अविरल वर्षाले निम्त्याएको विपद् : देशभर ६६ जनाको मृत्यु, ६९ जना बेपत्ता

अविरल वर्षाले निम्त्याएको विपद् : देशभर ६६ जनाको मृत्यु, ६९ जना बेपत्ता


काठमाडौँ । अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानले हालसम्म ६६ जनाको मृत्यु भएको छ भने ६९ जना बेपत्ता भएका छन्। गृह मन्त्रालयका अनुसार, विपद्‌बाट ६० जना घाइते भएका छन् र सार्वजनिक तथा निजी सम्पत्तिमा ठूलो क्षति पुगेको छ।

प्रतिकूल मौसमका कारण उद्धार कार्यमा कठिनाई भए पनि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय स्वयंसेवकको सहयोगमा जोखिममा परेका नागरिकहरूको उद्धार कार्य तीव्र रूपमा अघि बढिरहेको मन्त्रालयले जनाएको छ।

गृहमन्त्रीको उपस्थितिमा आयोजित विपद् पूर्व तयारी तथा प्रतिकार्य कमाण्ड पोस्टको बैठकमा हालसम्मको क्षतिको समीक्षा गर्दै, उद्धार र राहत कार्यमा केन्द्रदेखि स्थानीय तहसम्मका सबै संयन्त्रलाई सक्रिय बनाउने निर्देशन दिइएको छ। गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता ऋषिराम तिवारीका अनुसार, नेपाली सेनाको हेलिकप्टर, सुरक्षाकर्मी र उपलब्ध सबै उपकरणको प्रयोग गरी उद्धार कार्यलाई प्रभावकारी बनाउने निर्णय भएको छ। साथै, अवरुद्ध सडकलाई चाँडोभन्दा चाँडो सञ्चालनमा ल्याउने, घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाउने र प्रभावितको पुनर्स्थापनाका लागि आवश्यक योजना निर्माण गरी कार्यान्वयन गर्ने निर्णय भएको छ।

विपद् प्रभावितको अवस्था
विपद्‌बाट सबैभन्दा बढी प्रभावित क्षेत्र काठमाडौँ उपत्यका रहेको छ, जहाँ ३४ जनाको मृत्यु भएको छ भने १७ जना घाइते र २० जना बेपत्ता भएका छन्। अन्य प्रभावित क्षेत्रहरूमा कोशी प्रदेशमा ८ जना, लुम्बिनी प्रदेशमा २३ जना, र मधेस प्रदेशमा १ जनाको मृत्यु भएको छ। हालसम्म २,३३२ जनाको उद्धार गरिएको छ भने ९,८५३ सुरक्षाकर्मी उद्धार कार्यमा खटिएका छन्।

थप जनशक्ति परिचालन
उद्धार कार्यलाई थप प्रभावकारी बनाउन काठमाडौँ, ललितपुर र भक्तपुरमा थप जनशक्ति परिचालन गरिएको छ। काठमाडौँमा विपद् व्यवस्थापन महाशाखा, सामाखुसीबाट ४० जना, ललितपुरमा २५ जना र भक्तपुरमा विशेष सुरक्षा गण, त्रिपुरेश्वरबाट ३० जना र विपद् व्यवस्थापन महाशाखाबाट १५ जना खटाइएको छ।

सबै सुरक्षाकर्मीलाई उद्धार कार्यलाई प्रभावकारी बनाउँदै जोखिममा परेका नागरिकको शीघ्र उद्धार गर्न र राहत प्रदान गर्न निर्देशन दिइएको छ। गृह मन्त्रालयले बाढी, पहिरो, र डुबानको जोखिममा रहेका नागरिकहरूलाई सुरक्षित स्थानमा जान, स्थानीय निकाय तथा सुरक्षाकर्मीको निर्देशन पालना गर्न र कुनै पनि विपद्को घटना भएमा तत्काल नजिकको सुरक्षा निकायलाई जानकारी दिन अनुरोध गरेको छ।

सतर्कता अपनाउन आग्रह
जल तथा मौसम विज्ञान विभागले असोज १३ गतेसम्म देशभर भारी वर्षाको सम्भावना रहेकोले गृह मन्त्रालयले सबै नागरिकलाई सतर्कता अपनाउन, जोखिमयुक्त क्षेत्रमा रहँदा विशेष ध्यान दिन र विपद्‌को घटना भएमा तत्काल सम्बन्धित निकायलाई जानकारी दिन आग्रह गरेको छ।

मन्त्रालयले विपद्‌मा परेका सबै नागरिकको शीघ्र उद्धार र राहतका लागि सरकार प्रतिबद्ध रहेको जनाएको छ।