बाढीपहिरोले जलविद्युत आयोजनामा क्षति पुगेपछि भारतमा निर्यात रोक्ने तयारीमा प्राधिकरण

बाढीपहिरोले जलविद्युत आयोजनामा क्षति पुगेपछि भारतमा निर्यात रोक्ने तयारीमा प्राधिकरण


काठमाडौं। नेपाल विद्युत प्राधिकरणले दुई दर्जनभन्दा बढी जलविद्युत आयोजनाबा बाढी पहिरोले क्षति पुर्‍याएपछि भारततर्फको निर्यात घटाएको छ।

प्राधिकरणले भारतमा दैनिक ६०० मेगावाटसम्म विद्युत निर्यात गर्दै आएकामा बाढी पहिरोले आयोजनामा क्षति पुर्‍याएपछि निर्यात २५०/३०० मेगावाटमा झारेको छ। प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आन्तरिक खपत गर्न नपुगेको खण्डमा निर्यात बन्द गर्ने बताए।

‘आन्तरिक माग बढेमा निर्यात बन्द नै गर्छौं। खपत गरेर बचेमात्र निर्यात गर्ने हो। अहिले पनि २५०/३०० मेगावाट मात्र निर्यात गरिरहेका छौं,’ उनले भने। प्राधिकरणका अनुसार विभिन्न ११ आयोजनाको ६२४ मेगावाट विद्युत उत्पादन बन्द भएको छ। अरु १५ आयोजना निर्माणाधीन अवस्थाका हुन्।

घिसिङका अनुसार अप्पर तामाकोसी आयोजनाको उत्पादन बन्द भएको तीन दिन भएको छ। यो आयबोजनाको बाँधस्थलमा अवस्थित कन्ट्रोल रुममा पूर्णरुपमा क्षति पुगेको छ। ‘अप्पर तामाकोशीलाई रेफ्टिफिकेसन गर्न लामो समय लाग्ने अवस्था आएमा हिउँदको समयमा कही समस्या हुनसक्छ,’ उनले भने।

ऊर्जा मन्त्रालयको प्रारम्भिक विवरणअनुसार जलविद्युत आयोजनामा हालसम्म २ अर्ब ४५ करोड रुपैयाँको क्षति भएको छ। ११ वटा आयोजनाको वित्तीय क्षति यकिन हुन सकेको छैन।

पुन: निर्माणमा सबैसँग समन्वय गर्ने मन्त्री खड्काको आश्वासन

ऊर्जामन्त्री दीपक खड्काले बाढीपहिरोले क्षति भएका आयोजना पुनर्निर्माणमा सबैसँग समन्वय गर्ने बताएका छन्। उनले अन्तर मन्त्रालय र सबै पक्षसँग छलफल गरेर निर्णय लिने बताए। ‘क्षतिको विषयमा हामी अर्थ मन्त्रालयका साथै बीमा कम्पनी र बीमा प्राधिकरणसँग समन्वय गरेर काम गर्छौं। चाँडोभन्दा चाँडो इन्स्योरेन्स रकम उपलब्ध गराउन हाम्रो पहल हुनेछ,’ मन्त्री खड्काले भने।