भक्तपुर ।
होमस्टे निमुखा जनताको जीवनस्तर उकास्ने पेसा भएको सरोकारवालाले जनाएका छन् ।
होमस्टे(घरबास) महासङ्घ नेपालको प्रथम चाँगुनारायण नगर अधिवेशनलाई सम्बोधन गर्दै सरोकारवालाहरूले निमुखा जनताको जीवनस्तर उकास्ने पेसा होमस्टे भएको बताएका हुन् ।
चाँगुनारायण नगरपालिका वडा नम्वर ४ शान्ति पार्कमा भएको पहिलो नगर सम्मेलनमा बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले भक्तपुरमा होमस्टेको प्रचार प्रसारलाई तीव्र बनाउनु पर्ने बताएका छन् ।
चाँगुनारायण नगरपालिकामा मात्र १३ वटा होमस्टे हुँदा हुँदै पनि प्रचार प्रसारको अभावले केही होमस्टेको विषयमा मात्र जनतालाई थाहा भएको भन्दै उनले यसकोलागि प्रदेशमा समेत पहल गर्ने बताए ।
बागमती प्रदेश सरकारले होमस्टे पर्यटनका लागि टेवा पुग्ने गरी ल्याएको नीति कार्यक्रम तथा बजेटबारे जानकारी दिँदै उनले चाँगुनारायण नगरमा होमस्टेको विकास र विस्तार र प्रवर्द्धनका लागि विगतमा गरिएका कामहरूको स्मरण गर्दै थप सहयोग गर्न तयार रहेको जानकारी दिए ।
बागमती प्रदेश सभा सांसद प्रेमभक्त महर्जनले आफू होमस्टेकर्मी नै भएको र होमस्टे एसोसिएसनमा रहेर काम पनि गरेकाले आफूलाई होमस्टेको समस्या के हुन थाहा भएको बताएका थिए ।
उनले संसदमा रहेर सरकारलाई होमस्टे मैत्री नीति तथा कार्यक्रम ल्याउन दबाब निरन्तर दिइरहेको र आगामी दिनमा पनि आफू निरन्तर होमस्टे पर्यटनलाई नै बढी जोड दिने पक्षमा रहेको बताएका थिए ।
कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्रीका सल्लाहकार डी पी ढकाल, चाँगुनारायण नगरपालिकाका पूर्व मेयर सोम प्रसाद मिश्र, चाँगुनारायण नगरपालिकाका कार्यकारी अधिकृत चुरामणि पन्थी, भक्तपुर नगरपालिकाका कार्यकारी अधिकृत विजय कुमार शर्मा लगायतका अतिथिको उपस्थिति रहेको थियो ।
अधिवेशनबाट कान्छा लामाको अध्यक्षतामा होमस्टे महासङ्घ नेपालको चाँगुनारायण समिति गठन गरिएको छ । चाँगुनारायण तदर्थ समितिका उपाध्यक्ष कान्छा लामाबाट विद्यमान समिति विघटन गरी ५ सदस्यीय निर्वाचन मण्डलबाट समितिको गठन गरिएको हो ।
बागमती प्रदेशका स्थानीय तहमध्ये चाँगुनारायण नगरपालिकाले पहिलो अधिवेशन सम्पन्न गर्दै आफ्नो कार्यसमिति चयन गरेको हो । नगरपालिकामा दर्ता भएका होमस्टेहरूमध्येबाट प्रतिनिधि चयन गरी समिति गठन गरिएको थियो । नगरपालिकाभित्र १३ वटा होमस्टे दर्ता भई सञ्चालनमा आएको छ जसबाट अधिवेशनमा नगरभित्रका १३ होमस्टे मध्ये ९ वटा होमस्टेबाट ४४ जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
प्रतिक्रिया