विपद् व्यवस्थापनमा ३ वटा संघसंस्थाद्वारा ३ करोड ३१ लाखभन्दा बढी आर्थिक सहयोग, प्रधानमन्त्रीको कार्यालयद्वारा आभार प्रकट

विपद् व्यवस्थापनमा ३ वटा संघसंस्थाद्वारा ३ करोड ३१ लाखभन्दा बढी आर्थिक सहयोग, प्रधानमन्त्रीको कार्यालयद्वारा आभार प्रकट


काठमाडौँ- देशमा हालै देखा परेको विनाशकारी विपद् व्यवस्थापनका लागि तीन वटा संघसंस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सवा तीन करोडभन्दा बढी आर्थिक सहयोग गरेका छन्। बाढी, पहिरो र डुबानका कारण उत्पन्न संकटमा प्रभावित नागरिकहरूको तत्काल राहत, उद्धार तथा पुनःस्थापनाका लागि विभिन्न संघसंस्थाहरूले सहयोगको हात अघि बढाएका हुन्।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राष्ट्रिय वाणिज्य बैंकले २ करोड रुपैयाँ, भाटभटेनी सुपरमार्केटले १,११,११,१११ रुपैयाँ र युनिलिभर नेपाल लिमिटेडले २० लाख रुपैयाँ सहयोग गरेका छन्। यसरी कुल ३ करोड ३१ लाख ११ हजार १११ रुपैयाँको सहयोग प्राप्त भएको छ।

यस आर्थिक सहयोगले विपद् व्यवस्थापनमा महत्त्वपूर्ण योगदान पुगेको र अन्य संघसंस्थाहरूबाट पनि उल्लेखनीय सहयोग भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

देशका विभिन्न भूभागमा अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानले ठूलो जनधनको क्षति पुर्‍याएको छ। यस विपद्को घडीमा राष्ट्रको एकता र सहयोगको आवश्यकतालाई जोड दिँदै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सहयोगी संघसंस्थाहरूलाई हार्दिक आभार व्यक्त गरेको छ। साथै, दिवङ्गत व्यक्तिहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै, शोकाकुल परिवारजनप्रति गहिरो समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विपद् व्यवस्थापनमा जुटेका सबैप्रति कृतज्ञता व्यक्त गर्दै, आम नागरिकलाई सुरक्षित रहन र सावधानी अपनाउन विशेष अपिल गरेको छ।