लेबनानका नेपालीलाई अधिकतम सतर्कता अपनाउन सरकारको अनुरोध

लेबनानका नेपालीलाई अधिकतम सतर्कता अपनाउन सरकारको अनुरोध


काठमाडौँ – नेपाल सरकारले लेबनानमा विकसित पछिल्लो घटनाक्रमका सन्दर्भमा त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकको सुरक्षा तथा हित सुनिश्चित गर्नेतर्फ पूर्ण रूपमा सचेत रहेको जनाएको छ ।

परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै हालसम्म त्यहाँ रहेका नेपाली नागरिक सुरक्षित रहेको र उनीहरूको सहजताका लागि निरन्तर प्रयत्न भइरहेको जनाएको छ । साथै, लेबनानमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई अधिकतम सतर्कता तथा सचेतना अपनाउन अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयका अनुसार हालसम्म लेबनानमा सबै नेपाली सुरक्षित छन्, तर विकसित पछिल्ला घटनाक्रमबाट अधिकतम सतर्कता र सचेतना अपनाउनुपर्ने भएको छ । त्यसैले कुनै अप्ठ्यारो परेमा सम्पर्क गर्न भन्दै मन्त्रालयले नेपाली राजदूतावास कायरो, अवैतनिक नेपाली वाणिज्यदूतावास बेरुत र परराष्ट्र मन्त्रालयका कर्मचारीहरुको नाम, सम्पर्क नम्बर र इमेल ठेगाना सार्वजनिक गरेको छ ।

तत्कालै थप कुनै सहयोग तथा जानकारी आवश्यक परेमा लेबनानमा रहेका नेपाली नागरिक तथा उनीहरूका आफन्तहरूले नेपाली राजदूतावास कायरोमा दीपक घिमिरेलाई २०१०७७७२३४८ नम्बरमा ह्वाट्सएपमार्फत् सम्पर्क गर्न सकिने छ । यसैगरी बेरुतमा मोहम्मद गोजायललाई ९६१३३०११८१, ९६१७१६८८८२१ र ९६१८१८८३७१३ नम्बरमा सम्पर्क गर्न सकिने छ ।

यस्तै, काठमाडौँमा परराष्ट्र मन्त्रालयका शाखा अधिकृत श्रीकृष्ण सिलवाललाई ९८४९१७९५२० नम्बरमा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ ।