पर्सामा बने दुई अस्पताल, दुई अधुरै

पर्सामा बने दुई अस्पताल, दुई अधुरै


वीरगञ्ज – संघीय सरकारले पर्सामा चार वटा आधारभूत अस्पताल निर्माण गर्ने घोषणा गरेकामा हालसम्म दुई अस्पताल भवन मात्र निर्माण  छन् भने दुई वटाको काम अधुरै छ । पटेर्वा सुगौली गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आइसकेको छ भने र ठोरी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न भएर रङरोगनको काम भइरहेको छ । पटेर्वा सुगौलीमा निर्माण भएको आधारभूत  अस्पतालबाट सेवा प्रवाह भइरहेको छ ।

पटेर्वा सुगौली गाउँपालिकाका अध्यक्ष दिनेशकुमार चौधरीले निरन्तरको पहलकदमीका कारण आधारभूत अस्पताल  भवन निर्माण गरेर सेवा प्रवाह भएको बताए । ठोरी गाउँपालिकामा निर्माणाधीन १५ शय्याका आधारभूत अस्पताल भवनमा धमाधम रङरोगनको काम भइरहेको छ । उक्त गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले ठोरीको १५ शय्याको अस्पताल भवन निर्माण प्रायः पूरा भएको बताए ।

पर्सामा निर्माण हुनुपर्ने अन्य दुई आधारभूत अस्पतालको काममा भने प्रगति भएको छैन । धोबिनी गाउँपालिकामा निर्माणाधीन १५ शय्याको आधारभूत अस्पताल निर्माणमा ढिलासुस्ती भएको छ । धोबिनी गाउँपालिकाका अध्यक्ष मदनप्रसाद चौहानले पालिकामा निर्माणाधीन आधारभूत अस्पतालको भौतिक प्रगति २५ प्रतिशत भएको बताए । यसैगरी जिराभवानीमा निर्माणाधीन १० शय्याको अस्पतालको प्रगति पनि २० प्रतिशतभन्दा अधिक भएको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले  अघिल्लो कार्यकालमा २०७७ साल मङ्सिर १५ गते मुलुकभरका तीन सय ९६ वटा पालिकामा पाँचदेखि १५ शय्याको आधारभूत अस्पताल निर्माणको एकसाथ शिलान्यास गरेका थिए । त्यसबेला तीन सय ९६ वटा अस्पताल दुई वर्षभित्रै निर्माण सम्पन्न गर्न रु ५८ अर्ब बजेट लाग्ने बताइएको थियो ।

सरकारले सुरुमा १५ शय्याको अस्पतालका लागि रु १८ करोड छ लाख ८२ हजार, १० शय्याका लागि रु १० करोड ८३ लाख ३६ हजार र पाँच शय्याको अस्पतालको लागि रु सात करोड ११ लाख ९७ हजार लाग्ने बताएको थियो ।