बाढी तथा डुबान प्रभावित गाउँमा खानेपानीको समस्या

बाढी तथा डुबान प्रभावित गाउँमा खानेपानीको समस्या


सर्लाही- अविरल वर्षापछि आएको बाढी तथा डुबानका कारण सर्लाहीमा दुई हजार ५३३ परिवार प्रभावित भएका छन् । लगातारको वर्षापछि बागमती नदी, लखन्देही, झिम, सोती, मनुस्मारालगायत खोलामा बाढी आएको थियो । बाढीले बाँध फुटाएर गाउँमा पसेपछि जिल्लाको दक्षिण पश्चिममा रहेका आठ वटा पालिका प्रभावित भएका हुन् । बाढी तथा डुबानमा परेर २९०  घर पूर्णरुपमा नष्ट भएको छ भने ५७४ घरमा आंशिक क्षति पुगेको जिल्ला विपद् व्यवस्थापन समिति संयोजक प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले जानकारी दिए।

यस्तै, जिल्लामा एक हजार ६६९ घर बाढी पसेर डुबाएको छ । बाढी तथा डुबानमा परेर घरबास गुमाएका परिवार नजिकैका आफन्तकामा शरण लिएर बसिरहेका प्रजिअ अधिकारीले जानकारी दिए। केहीलाई स्थानीय प्रशासनले नजिकैका सार्वजनिक भवन तथा धर्मशालामा राखेका छन् । विस्थापितहरूलाई प्रहरी प्रशासनले खानेपानी तथा चिउरा, चाउचाउलगायत खाद्यान्न समेत वितरण गरिरहेका उनले जानकारी दिए।

बलरा नगरपालिकाको ११  वडामा १०६ वटा घर पूर्ण रूपमा र २८२ घरमा आंशिक क्षति पुगेको छ भने ५०८ घर बाढीमा डुबेको छ । बाढीमा डुबेका घरमा समेत कम्मर कम्मरसम्म पानी जमेकाले बस्न सक्ने अवस्था नरहेको बलरा नगरपालिकाका प्रमुख रामाशंकरप्रसाद कुशवाहले जानकारी दिए। जिल्लामा क्षतिको विवरण संकलन गरिरहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । स्थानीय तह, विभिन्न संघसंस्थासँगको सहकार्यमा राहत पुर्‍याउने काम गरिरहेको प्रजिअ अधिकारीले बताए।

यस्तै, रामनगर गाउँपालिका-१, २, ६ र ७ का गाउँमा ८१ घरमा पूर्ण रूपमा र ९० घरमा आंशिक क्षति पुगेका छ भने ३३० घर डुबानमा परेको छ । जिल्लाको ब्रह्मपुरी गाउँपालिकामा पनि झिम नदीको बाढी पस्दा त्रिभुवन नगर गाउँका ४० घरमा आंशिक क्षति पुगेको छ भने १९० घर बाढीले डुबानमा पारेको छ । बागमती नदीको बाँध फुटेर पसेको पानीले बसवरिया गाउँपालिका–२, ढापटोलमा आठ घरमा पूर्ण क्षति पुगेको छ भने ११७ घर डुबानमा परेको छ ।

यसैबीच, सोती खोलामा आएको बाढीले बरहथवा नगरपालिका-४, हरपुर्वा गाउँमा पाँच घरमा आंशिक क्षति पुर्‍याएको छ भने चार घर डुबानमा परेको बरहथवा नगरपालिकाकी प्रमुख कल्पनाकुमारी कटुवालले जानकारी दिए। चन्द्रनगर गाउँपालिका-१, २, ३, ४ र ५ का विभिन्न गाउँमा गरी ३२ परिवारको घर पूर्ण रूपमा र ५२ घरमा आंशिक क्षति पुगेको छ भने ३७० घर डुबानमा परेको छ । गाउँको अधिकांश कच्ची घरमा झिम नदीको बाँध फुटेर बाढी पसेको गाउँपालिका अध्यक्ष राजकुमार महतोले जानकारी दिए।

जिल्लाको धन्कौल गाउँपालिका-३, ४, ५, ६ र ७ का गाउँमा बागमती खोलाको बाढी पसेको छ । यस पालिकामा ६३ वडा कच्ची घर पूर्ण रूपमा र १०५ वटा घरमा आंशिक क्षति पुगेको पालिकाले जनाएको छ भने, ३०० वटा घर डुबानमा परेको छ । बागमती खोलामा आएको बाढी बाँध भत्काएर गाउँतर्फ सोझिएको स्थानीय रामविनय महतोले बताए। बाढीले यस क्षेत्रमा तरकारी र धानबालीमा अत्यधिक क्षति पुर्‍याएको छ भने उखु खेतीमा समेत आंशिक क्षति पुगेको स्थानीयको भनाइ छ ।

यस्तै, विष्णु गाउँपालिका-७, डुमला टोलमा पनि एउटा घरमा बाढीले पूर्ण रूपमा क्षति पुर्‍याइदिएको छ । बाढी तथा डुबानबाट प्रभावित अधिकांश स्थानमा अझै कम्मरसम्म पानी जमेका कारण स्थानीयलाई पकाएर खानसमेत समस्या भएको बताएका छन् । दाउरा भिजेको र ग्यास चुल्हो विपन्न परिवारको पहुँचमा नरहेका कारण समस्या भएको उनीहरूले गुनासो गरे । तत्कालका लागि खाना पकाएर खाने व्यवस्था गर्दिन बसबरिया गाउँपालिका–२, ढापटोलका दीपेन्द्र ठाकुरले अनुरोध गरे।

बाढी तथा डुबानमा रहेका अधिकांश गाउँका स्थानीयले स्वच्छ खानेपानी नपाएको गुनासो गरेका छन् । चापाकलहरु पानीमा डुबेका र खानेपानीको दिगो व्यवस्था नभएका कारण दूषित पानीका कारण स्थानीय संकटमा रहेको बलरा नगरपालिका-१, निवासी चुनचुन महतोले बताए। स्थानीयले पहिलो आवश्यकता अनुसारको राहतसमेत नपाएको उनले गुनासो गरे। बाँस र माटोले बनेका खपडा, टायल र जस्ताको छाना भएका कच्ची घरहरू डुबानमा परेर क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।