प्रधान सेनापति ट्रफी २०८१ सम्पन्न: उपत्यका पृतना प्रथम

प्रधान सेनापति ट्रफी २०८१ सम्पन्न: उपत्यका पृतना प्रथम


काठमाडौँ । भाद्र ३० गतेबाट सुरु भएको प्रधान सेनापति ट्रफि २०८१ खेलकुद प्रतियोगिता मंगलबार नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

एथलेटिक्स, स्विमिङ, बक्सिङ, तेक्वान्दो, जुडो, भलिबल, बास्केटबल र फुटबल खेल समावेश गरिएको उक्त प्रतियोगितामा पृतना, युद्ध मद्दती बाहिनी र विशेष फौज बाहिनीका जम्मा १४ वटा टिमहरू सहभागी थिए ।

उक्त प्रतियोगितामा उपत्यका पृतना प्रथम, नं.१६ बाहिनी द्वितीय र श्री विशेष फौज बाहिनी तृतीय भएका छन् । यसैगरी गणतर्फ पुरानो गोरख गण प्रथम, श्री जगदल गण र श्री भैरवनाथ गण समान अंकका साथ द्वितीय भएका छन् ।

जङ्गी अड्डाको खेल मैदानमा सम्पन्न समारोहमा प्रधान सेनापति सिग्देलले प्रतियोगितामा प्रथम उपत्यका पृतना तथा गणहरू मध्य प्रथम पुरानो गोरख गणलाई ट्रफि, प्रमाण-पत्र तथा नगद पुरस्कार प्रदान गर्नुका साथै प्रतियोगिताका उत्कृष्ट खेलाडी एवं रेफ्रीहरुलाई पुरस्कृत गरेका थिए ।

त्यसै गरी सोही अवसरमा प्रधान सेनापतिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ह्‍विल चियर खेल प्रतियोगिता लगायत अन्य खेलकुद प्रतियोगितामा सहभागी भई उत्कृष्ट नतिजा प्राप्त गर्ने ११ जना खेलाडीहरूलाई प्रधान सेनापति प्रशंसा निशान प्रदान गरे ।

यस्तै प्रतियोगितामा द्वितीय तथा तृतीय स्थान हासिल गर्ने टिमहरूलाई पूर्व प्रधान सेनापतिहरूले पुरस्कृत गरेका थिए । साथै वर्षभरिमा उत्कृष्ट खेलाडीको रूपमा छनौट भएका महिला र पुरुष खेलाडी १/१ जनालाई प्रधान सेनापति महारथी गौरव शम्शेर ज.ब.रा. अजेयबल ट्रफिद्वारा पुरस्कृत गरिएको थियो । प्रतियोगिता अन्तर्गत विभिन्न विधाहरूमा विजेता भएका खेलाडीहरूलाई अतिरथी निर शम्शेर ज.ब.रा. पुरस्कार कोषबाट नगद पुरस्कार समेत प्रदान गरिएको थियो ।