पूर्वानुमान वर्षाको असर: टेलिफोन र इन्टरनेट सेवा प्रदायकको करिब ३० करोडको क्षति

पूर्वानुमान वर्षाको असर: टेलिफोन र इन्टरनेट सेवा प्रदायकको करिब ३० करोडको क्षति


काठमाडौँ । केही दिनअघि निरन्तर वर्षाका कारण सिर्जित बाढी पहिरो, डुबानलगायत समस्याबाट टेलिफोन र इन्टरनेट सेवा प्रदायक कम्पनीको करिब ३० करोड बराबरको क्षति भएको प्रारम्भिक आंकलन गरिएको छ ।नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार इन्टरनेट सेवा प्रदायक कम्पनीको क्षतिको विवरण अझै पूर्ण रूपमा आइसकेको छैन भने टेलिफोन सेवा प्रदायक दुई कम्पनी नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (एनटिसी) र एनसेल आजिअटा लिमिटेड (एनसेल) को मात्र करिब रु. २२ करोड बराबरको क्षतिको अनुमान गरिएको छ ।

“एनटिसीको करिब रु. १५ करोड र एनसेलको करिब रु. सात करोड बराबरको क्षति भएको प्रारम्भिक विवरण आएको छ । त्यस्तै, हालसम्म १५ इन्टरनेट सेवा प्रदायकहरूबाट विवरण सङ्कलन भइसकेकामा यस्ता कम्पनीहरूको करिब रु. साढे सात करोड बराबरको क्षति भएको प्रारम्भिक तथ्याङ्क छ”, प्राधिकरणका सहायक प्रवक्ता डा. प्रदीप पौड्यालले भने । इन्टरनेट सेवा प्रदायकहरूबाट थप क्षतिको विवरण सङ्कलन भइरहेको पनि उनले बताए।

बाढी पहिरो, डुबान, चट्ङ्याङलगायत समस्याबाट विद्युत् आपूर्ति अवरोध भएका कारण मुलुकको धेरै स्थानमा टेलिफोन र इन्टरनेट सेवा पनि अवरुद्ध भएको थियो । विद्युत् आपूर्ति सहज भएसँगै क्रमशः दूरसञ्चार सेवा पनि पुनः सञ्चालनमा आएको डा.पौड्यालको भनाइ छ ।

पोल ढल्ने, तार चुँडिनेलगायत समस्या देखिएका ठाउँमा द्रुत टोली खटाएर सेवा सुरु गर्न कम्पनीहरूलाई निर्देशन दिइसकेको आंकलन उनले जानकारी दिए । टेलिफोन र इन्टरनेट अत्यावश्यक वस्तु भएकाले यस्तो सेवा अवरोध नहोस् भन्नका लागि प्राधिकरण चनाखो रहेको उनले बताए ।