आज रातिबाट डीभी आवेदन खुल्दै, के चाहिन्छ योग्यता ?

आज रातिबाट डीभी आवेदन खुल्दै, के चाहिन्छ योग्यता ?


काठमाडौ – सन् २०२६ को अमेरिकी डाइभर्सिटी भिसा (डीभी) कार्यक्रमका लागि आवेदन दर्ता आजदेखि खुला हुँदै छ । काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार, नेपाली समयअनुसार बुधबार राति ९ः४५ बजेबाट डीभीका लागि आवेदन दिन सकिने छ । आगामी कात्तिक २० गते राति १०ः४५ बजेसम्म डीभीको आवेदन दिन पाइने दूतावासले जनाएको छ । “हामी डीभी आवेदकहरूलाई सकेसम्म चाँडो आवेदन भर्न प्रोत्साहित गर्द छौँ,” दूतावासले भनेको छ ।

 

आवेदकहरूले दर्ता अवधिमा आधिकारिक वेबसाइट गएर डीभी आवेदन फाराम भर्न सक्ने छन् । दूतावासले डीभी कार्यक्रममा सहभागी हुन कुनै शुल्क नलाग्ने स्पष्ट पारेको छ । “अमेरिकी दूतावास तपाईंहरूलाई आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिन्छ । आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्‍वासिलो व्यक्तिको सहयोग लिनेतर्फ विचार गर्नुहोला । सहयोग जसले उपलब्ध गराए तापनि आफ्नो आवेदनका लागि तपाईं आफैँ जिम्मेवार रहनुहुने छ,” दूतावासले भनेको छ ।

डीभीको लागि फारम अनलाइन भर्नुपर्ने छ । आवेदन दर्ता गर्दा आवेदकको पति–पत्नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई अनिवार्य सूचीकृत गर्नुपर्ने दूतावासले जनाएको छ । उनीहरूलाई समावेश नगरी पेस गरिएको आवेदन अमान्य हुने विज्ञप्तिमा उल्लेख छ ।

एक जनाले व्यक्तिले डीभीका लागि एउटा मात्र आवेदन दिन पाउने छन् । एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिने छन् । अघिल्लो वर्षको डीभी आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गरेमा अयोग्य ठहरिने दूतावासले जनाएको छ । फोटो खिच्दा आवेदकहरूले चस्मा लगाउन नहुने पनि दूतावासले बताएको छ । डीभी आवेदन भर्दा राहदानी अनिवार्य गरिएको छैन ।