स्थानीय तह उपनिर्वाचनमा २६ दलद्वारा दर्ताको आवेदन

स्थानीय तह उपनिर्वाचनमा २६ दलद्वारा दर्ताको आवेदन


आगामी १६ मंसिरका लागि तय भएको स्थानीय तह उपनिर्वाचनमा भाग लिन २६ दलले दर्ताका लागि निवेदन दिएका छन् । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार संसद्का प्रमुख दलहरू कांग्रेस, एमाले र माओवादीसहितका विभिन्न २६ दलले दर्ताका लागि निवेदन दिएका हुन् । आयोगले १० असोजदेखि बुधबार (१६ असोज)सम्म समय तोकेर दल दर्ताका लागि आवेदन खुलाएको थियो ।

जिल्ला समन्वय समिति प्रमुख दुई, नगरपालिकाका मेयर र उपमेयर एक–एक, गाउँपालिका अध्यक्ष दुई, गाउँपालिका उपाध्यक्ष तीन र ३० वडाध्यक्ष गरी ३९ पदका लागि निर्वाचन हुन हुँदै छ । आयोगले यसअघि नै २ मंसिरमा उम्मेदवारी दर्तासहितको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिकाअनुसार ३ मंसिरमा उम्मेदवारविरुद्ध उजुरी आह्वान, ५ मंसिरमा उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशन र निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ । मतदान सुरु हुनुभन्दा ४८ घण्टा अगाडिबाट १३ मंसिरको राति १२ बजेबाट मौन अवधि सुरु हुनेछ ।

निर्वाचन हुन लागेका ३९ स्थानमा ०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा कांग्रेसले २४ स्थान, माओवादीले पाँच, एमालेले आठ, जसपाले एक र एक स्वतन्त्र उम्मेदवार निर्वाचित बनेका थिए । परिवर्तित राजनीतिक परिस्थितिमा हुन लागेको उपनिर्वाचनलाई दलहरूको शक्ति परीक्षणको रूपमा हेरिएको छ । निर्वाचनमा दलहरूलाई स्थानीय तहमा आफ्नो जनाधार जोगाउने चुनौती छ ।