बलेवा (बागलुङ) । दसैँको पहिलो दिन घटस्थापनाका अवसरमा आज बागलुङ कालिका भगवती मन्दिरमा भक्तजनको घुइँचो लागेको छ ।
प्रसिद्ध शक्तिपीठ भएकाले दसैँ र चैतेदसैँमा यहाँ भक्तजन धेरै आउने गर्छन् । चितवन, बुटवल, स्याङ्जा, पोखरा र अन्य छिमेकी जिल्लाका भक्तजन यहाँ आउने गरेको कालिका भगवती गुठीका अध्यक्ष कुमार खड्काले बताए।
होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष निलेश राजभण्डारीका अनुसार केही दिनदेखि होटलहरु भरिभराउ छन् । मन्दिरमा कति भक्तजन आए भन्ने यकिन तथ्याङ्क छैन । खपत भएका नरिवल र बलिको सङ्ख्याका आधारमा अनुमान गर्ने गरिएको छ । हरेक वर्ष दसैँमा चार लाख बढी नरिवल बिक्री भएको तथ्याङ्क छ ।
चैतेदसैँमा पनि यहाँ भीड लाग्ने गर्छ । पाँच सय वर्ष अघि स्थापना भएको यस मन्दिरमा नियमित पूजा हुँदै आएको किंवदन्ती छ ।

प्रतिक्रिया