काठमाडौँ । मध्यपहाडी राजमार्ग अन्तर्गत खुर्कोट–घुर्मीखण्ड आजदेखि एकतर्फी रूपमा खुलेको छ । केही दिनअघि आएको वर्षासँगैको बाढीपहिरोले राजमार्गको सयौँ स्थान अवरुद्ध भएपछि पाँच दिनदेखि आवागमन ठप्प भएको थियो ।
राजमार्गमा दुवैतर्फबाट दुई-दुई वटा डोजर र स्काभेटर प्रयोग गरी पाँच दिनसम्मको निरन्तर प्रयासमा आज दिउँसोदेखि सडक सञ्चालनमा ल्याइएको सिन्धुली गोलञ्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले जानकारी दिए।
राजमार्ग सञ्चालनमा आए पनि यस क्षेत्रमा वर्षाले जमिन कमलो बनाएकाले सुख्खा पहिरोको जोखिम कायम रहने भन्दै रात्रिकालीन यात्रा गर्नु जोखिमपूर्ण हुनसक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरिएको छ । सो खण्डमा यात्रामा रहनेले उच्च सतर्कता अपनाउनुपर्ने उपाध्यक्ष न्यौपानेले बताए।
सयौँको सङ्ख्यामा यस खण्डमा स-साना पहिरो झरेका छन् । हाललाई सामान्य रूपमा पहिरो पन्छाएर एकतर्फी रूपमा सडक सञ्चालनमा ल्याइएको छ । यस खण्ड अन्तर्गत सबै स्थानमा अहिले ठूला सवारीसाधन सहज रूपमा सञ्चालन गर्न चुनौतीपूर्ण बनेको पिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालले बताए । साना तथा मझौला सवारीसाधन, एम्बुलेन्सलगायत दुई पाङ्ग्रे सवारीलाई कुनै समस्या नरहेको उनले जानकारी दिए।
उक्त राजमार्ग अवरुद्ध भएसँगै ओखलढुंगा उदयपुर, सिन्धुली, सोलुखुम्बु र खोटाङलगायत क्षेत्रमा बन्द भएको सडक सञ्जाल पुनः सञ्चालनमा आएको छ । मध्यपहाडी राजमार्गको उक्त खण्ड भई सामान्य अवस्थामा दैनिक सयौँ तथा दसैँ तिहारजस्ता चाडबाडमा हजारौँको सङ्ख्यामा साना तथा ठूला सवारीसाधन गुड्दै आएका छन् ।
राजमार्ग खुलाउने कार्यमा स्थानीय तह, राजनीतिक दल, नागरिक समाज, सुरक्षा निकाय, सडक कार्यालय र स्थानीय प्रशासनबाट आवश्यक सहयोग र समन्वय भएको पिक्कल गाउँपालिकाका उपाध्यक्ष बरालले बताए।
प्रतिक्रिया