न ढोका छ,न झ्याल ! खोलाको पानी कक्षाकोठाभित्र पसेपछि कहाँ बसेर पढ्ने ?

न ढोका छ,न झ्याल ! खोलाको पानी कक्षाकोठाभित्र पसेपछि कहाँ बसेर पढ्ने ?


कञ्चनपुर ।

भीमदत्त नगरपालिका–१४ वनकट्टीस्थित शान्ति आधारभूत विद्यालयमा भवन अभाव हुँदा पठनपाठनमा समस्या भएको छ ।

बस्ने कोठा नहुँदा अध्ययनमा समस्या भएको विद्यार्थीले गुनासो गरेका छन् ।

केही साताअघि आएको हावाहुरीले विद्यालयको २ कोठे भवनको जस्तापाता उढाएपछि विद्यार्थीलाई बस्नका लागि समस्या भएको प्रधानाध्यापक उत्तम विष्टले बताए । “जस्तापाता पूरै उढाएको छ, स्थानीय तहलाई जस्तापाताका लागि भनेका छौँ तर केही सुनुवाइ भएको छैन”, उनले भने, “विद्यार्थीलाई कहाँ राखेर पढाउने भन्ने समस्या छ ।”

कोरोनाका समयमा निर्माण सुरु गरिएको ३ कोठे भवन हालसम्म सम्पन्न नभएको बताउँदै विष्टले विद्यार्थीलाई निर्माणाधीन उक्त भवनमा बसालेर पठनपाठन गराइरहेको जानकारी दिए । भवनमा सिलिङ हालिएको छ भने प्लास्टरलगायतको काम बाँकी छ ।

“न ढोका छ, न झ्याल, पानी आउँदा सबैभित्र आउँछ, किताब कापी सबै भिज्छ”, कक्षा ६ मा अध्ययनरत सन्दीप भट्टले भन्नुभयो, “भुइँमा पनि ठूलाठूला ढुंगा मात्रै छन्, हामीलाई बस्नलाई निकै समस्या छ ।” हावाले उढाएको जस्ता फेर्न स्थानीय तहले आनाकानी गरेपछि स्थानीय बासिन्दा जुटेर विद्यालयको छाना निर्माण गर्न थालेका छन् ।

पठनपाठनमा निकै समस्या हुँदा पनि स्थानीय सरकारले चासो नदेखाएपछि श्रमदानमा विद्यालयको छाना निर्माण गर्ने काम भइरहेको प्रधानाध्यापक विष्टले बताए । विद्यालय नजिकै खोला र राष्ट्रिय निकुञ्ज भएको जानकारी दिँदै उनले यसरी अव्यवस्थित तरिकाले पठनपाठन गराउँदा दुर्घटनाको जोखिम बढेको बताए । उनका अनुसार वर्षात्का समयमा खोलामा पानीको बहाव बढेर विद्यालयका कक्षाकोठा पस्ने गरेको छ ।

“खोलाको पानी कक्षाभित्र आएर कोठा जलमग्न हुन्छ, हामी कहाँ बसेर पढ्ने ? ” विद्यार्थी वर्षा ओडले भनिन्, “विद्यालयको पर्खाल नहुँदा ससाना विद्यार्थी खेल्दाखेल्दै खोलामा खस्ने डर छ ।”

नजिकै राष्ट्रिय निकुञ्ज हुनाले वन्यजन्तु पनि विद्यालय परिसरमा भित्रिन सक्ने सम्भावना रहेकाले पर्खाल निर्माण गर्नु आवश्यक रहेको प्रधानाध्यापक विष्टले बताए ।