माटोका भाँडा बनाउन भ्याइनभ्याई

माटोका भाँडा बनाउन भ्याइनभ्याई


सुनसरी– सुनसरीको इनरुवा नगरपालिका–२ का २५ वर्षीय विनोद पण्डित बिहानै माटो मुछ्न थाल्छन् । उनी दिनभर भाँडा बनाउने काममा व्यस्त रहन्छन् । तिहार र छठपर्वलाई लक्षित गरेर पण्डितले माटोका भाँडा बनाउन थालेका हुन् ।

पण्डितको उद्देश्य चाडपर्वका बेला सबैलाई माटोका भाँडा सहज रूपमा पुर्‍याउने र आम्दानी गर्ने रहेको छ ।

उनी सदरमुकाम इनरुवा, लौकही, हरिपुरलगायत स्थानमा रहेका कुम्भकार चाडपर्वलाई लक्षित गरेर माटोको भाँडा बनाउने काममा व्यस्त बनेका छन् ।

स्थानीय दरपी पण्डितका अनुसार कुम्भकार समुदाय तिहार र छठपर्वलाई लक्षित गरी माटोको घैला, दियो, धुपदानी, कलशलगायतका भाँडाकुँडा बनाउने काममा व्यस्त रहेको छ ।

भाँडा बनाउन काँचो माटोको प्रयोग हुने गरेकाले दुई हप्ता अगाडिदेखि नै उनीहरुले माटोको जाेहाे गर्ने गरेका छन् । एक महिना अगाडिसम्म विभिन्न सस्याका कारण माटो ल्याउन नसक्दा भाँडा बनाउन ढिला भएको स्थानीय बचिया पण्डितले बताए । उनले भने, ‘नजिक माटो पाइँदैन, टाढाबाट प्रतिट्रयाक्टर १० हजारदेखि २० हजार रुपैयाँसम्ममा माटो खरिद गरी ल्याउनुपर्ने बाध्यता छ ।’

तिहार र छठपर्वमा दियो, चौमुखे दियो, कलशलगायत सामग्रीको अत्यधिक माग हुने भएकाले त्यसलाई लक्षित गरेर माटोका भाँडा बनाउने काममा लागेको पण्डितको भनाइ छ । चाडपर्वका बेलामा एउटा परिवारले एक लाखदेखि पाँच लाखसम्म माटोको दियो बनाएर बिक्री गर्ने गरेका छन् । चाडपर्वका बेलामा एउटा परिवारले माटोको भाँडाबाट ५० हजारदेखि दुई लाख रुपैयाँसम्म आम्दनी गर्ने गरेको बेचनीदेवी पण्डितले बताइन् ।

आफूहरूले बनाउने माटोको भाँडा बिक्री गर्न सुनसरी सदरमुकाम इनरुवासहित इटहरी, धरान, धनकुटा, झापालगायत ठाउँसम्म जाने गरेको उनको भनाइ छ । कुम्भकार समुदायका अधिकांश व्यक्तिको रोजीरोटी माटोका भाँडाकुँडा बनाउने रहेको छ ।