काठमाडौं – नेपाल राष्ट्र बैंकले एक वर्षमा साढे ७३ अर्ब रुपैयाँ खुद आम्दानी गरेको छ । राष्ट्र बैंकले यस आवमा अघिल्लो आवको तुलनामा २१.९६ प्रतिशत धेरै आम्दानी गरेकाे छ । बैंकको सञ्चालक समितिको गत कात्तिक २९ गते बसेको बैठकले खुद मुनाफाबाट कोषमा छुट्याउनुपर्ने रकम विनियोजन गरेपछि बाँकी ३७ अर्ब २२ करोड रुपैयाँ सरकारलाई उपलब्ध गराउने निर्णय गरेको हो ।
बैंकको प्रतिवेदनअनुसार, २०८१ असार मसान्तसम्म राष्ट्र बैंकको कूल सम्पत्ति तथा दायित्व २० खर्ब ६७ अर्ब रुपैयाँ पुगेको छ ।जुन, अघिल्लो वर्षको तुलनामा ३० दशमलव १५ प्रतिशतले वृद्धि भएको हो ।
आर्थिक वर्ष २०८०/८१ मा १० अर्ब २९ करोड रुपैयाँ बराबरको विदेशी लगानी र ५८ अर्ब ९६ करोड रुपैयाँ बराबरको विदेशी ऋण लेखांकन गरिएको छ । यस वर्ष राष्ट्र बैंकले ७३ अर्ब ९९ करोड रुपैयाँ मूल्यका ३५ करोड थान नयाँ नोट चलनचल्तीमा ल्याएको थियो ।
समीक्षा अवधिमा वाणिज्य बैंकहरूको कूल सम्पत्ति तथा दायित्व १२ दशमलव ९ प्रतिशतले वृद्धि भई ७२ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ । विकास बैंकहरूको सम्पत्ति ७ दशमलव ९ प्रतिशतले बढेर ७ खर्ब १७ अर्ब, वित्त कम्पनीहरूको ११ दशमलव २ प्रतिशतले बढेर १ खर्ब ६९ अर्ब, र लघुवित्त संस्थाको सम्पत्ति १ दशमलव ३ प्रतिशतले घटेर ५ खर्ब ५३ अर्ब रुपैयाँमा सीमित भएको छ।
प्रतिक्रिया