धनगढी । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले सुदूरपश्चिमका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दे भने, कांग्रेसलाई एक्लै लड्न सक्ने बलियो पार्टी बनाउछु र अबका दिनमा पार्टीभित्र अन्याय हुन दिने छैन । न्याय हुन्छ । त्यसको जिम्मा आफूले लिने बताए ।
सुदूरपश्चिमको ३ दिने भ्रमणमा रहेका कोइरालाले जिल्लाका नेता कार्यकर्तालाई आश्वस्त पार्दै भने, म सबैलाई समान र उचित अवसरका लागि पार्टीभित्र लडिरहेका छु ।
बिगतमा तपाईहरुमाथि अन्याय भएको छ । उचित अवसर पाउनु भएको छैन् । तपाईहरुको पीडा म बुझ्छु । अब १५ औं महाधिबेशनपछि न्याय हुन्छ । म कसैलाई पक्षपात गर्दिन । तर यसका लागि तपाईहरुको सहयोग चाहिन्छ, कोइराला भने ।
कोइरालाले नेपाली कांग्रेसको १५ औं महाधिवेशन लक्षित गर्दै भने, महाधिवेशन समयमै हुनुपर्छ । समयमा भएन भने पार्टी कमजोर हुन्छ । अनि पार्टी कमजोर भए देशमा लोकतन्त्र संकटमा पर्छ ।
देश र लोकतन्त्रलाई बचाउन पनि पार्टीको महाधिवेशन समयमै हुनुपर्छ । नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकार सुशासन र भ्रष्टाचार नियन्त्रणमा गम्भिर बन्न नसकेको कोइरालाले दाबी गरे ।
उनले भने, यति शक्तिशाली सरकार असफल बन्ने छुट छैन, सफल बन्नै पर्छ । तर सरकारको कार्यशैली भने सन्तोषजनक नभएको बताए । उनले आफू नेपाली कांग्रेसको तर्फबाट मन्त्री बनेकाहरुको कार्यशैलीबाट सन्तुष्ट नरहेको समेत बताए ।
सुदूरपश्चिम भ्रमणको पहिलो दिन कोइरालाले नौ ओटै जिल्लाका नेता तथा कार्यकर्तासँग फरक फरक अन्तरक्रिया तथा छलफल गरेका थिए ।
कञ्चनपुरबाट शुरु भएको भेटघाट दार्चुलासँगको छलफलपछि सकिएको थियो । कोइरालाले लगातार ६ घण्टा छलफल तथा अन्तरक्रिया गरेका थिए ।
जिल्लागत रुपमा जिल्लाका समस्याहरुको बारेमा नौ आटै जिल्लालाई सम्बोधन समेत गरेका थिए ।
भेटघाट कार्यक्रममा अधिकांश जिल्लाका नेता कार्यकर्ताले आफूहरु पार्टीको केन्द्रीय नेतृत्वबाट अन्यायमा परेको, गुटको आधार पक्षपात गरेको र आफूहरुलाई अवसरबाट बञ्चित गरेको गुनासो राखेका थिए ।
१५ औं महाधिवेशनमा आफूहरु डा. शेखर कोइरालालाई सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका थिए । र, पार्टीभित्र रहेका विवादलाई सुल्झाउन पनि सुझाव दिएका थिए ।
प्रतिक्रिया