प्रधानमन्त्रीले दिए जनकपुर बोल्ट्सलाई बधाई

प्रधानमन्त्रीले दिए जनकपुर बोल्ट्सलाई बधाई


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको उपाधि जितेकोमा जनकपुर बोल्ट्सलाई बधाई दिएका छन् । आज (शनिबार) त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै पहिलो च्याम्पियन बनेको हो|

प्रधानमन्त्री ओलीले यो ऐतिहासिक जितप्रति खुशी व्यक्त गर्दै भने, ‘बधाई जनकपुर बोल्ट्स, एनपिएलको पहिलो उपाधि जित्न सफल भएकोमा । आजको खेलमा सुदूरपश्चिम रोयल्सको प्रदर्शन पनि उत्कृष्ट रह्यो । यससँगै नेपाली क्रिकेटको महापर्व सम्पन्न भएको छ । एनपिएलमा सहभागी सबै टिम, आयोजक तथा व्यवस्थापकलाई पनि धन्यवाद ।’

जनकपुरले १८५ रनको लक्ष्य १९ ओभर २ बलमा ५ विकेटको क्षतिमा भेट्टाउँदै उपाधि जितेको हो । जनकपुरका ओपनर लहिरु मिलान्थाले ४९ बलमा ८७ रनको विस्फोटक पारी खेले । कप्तान आशिफ शेखले १९ बलमा ३३ रन र हर्ष ठाकरले ३० रनको योगदान दिए । जनकपुरले ट्रफीका साथै एक करोड १० लाख रुपैयाँ पुरस्कार राशी हात पारेको छ।

सुदूरपश्चिम रोयल्सका ओपनर विनोद भण्डारी र सैफ जैफले ११७ रनको उत्कृष्ट साझेदारी गरे पनि बलिङ र फिल्डिङको कमजोरीका कारण हार बेहोर्नुपर्‍यो । जनकपुरका किशोर महतो र मोहम्मद मोहसिनले ३÷३ विकेट लिँदै सुदूरपश्चिमको रनसंख्यालाई नियन्त्रणमा राख्न भूमिका खेले । प्रधानमन्त्री ओलीले यस्ता प्रतियोगिताहरूले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्दै, भविष्यमा खेलकुदको विकासका लागि सरकारले निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।