काठमाडौँ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीयबासीको माग सम्बोधन गरी बुढीगण्डकी जलविद्युत् आयोजनाको शिलान्याश छिट्टै गरिने बताएका छन् ।
गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिना नेतृत्वको प्रतिनिधिमण्डलसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्दै बुढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय गौरवको परियोजना भएकाले शीघ्र अघि बढाउने बताएका हुन् । यही साउन ३ गते सो आयोजनाको फिल्ड कार्यालय उद्घाटन भइसकेको छ ।
प्रधानमन्त्रीले आयोजना प्रभावित स्थानीयबासीले मुआब्जालगायतका विषयमा उठाएका माग सम्बोधन गर्ने र उनीहरूलाई समेत विश्वासमा लिएर अगाडि बढाउने विश्वास दिलाएको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिए ।
यस्तै, गोरखाको धौवादीघाटको पुल निर्माणलाई पनि छिट्टै अगाडि बढाइने प्रधानमन्त्रीको भनाइ थियो । त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएको झोलुंगे पुलको पुनर्निर्माण समेत तत्काल सुरु गर्ने प्रधानमन्त्रीको भनाइ थियो ।
गोरखाको गण्डकी गाउँपालिका र धादिङको बेनीघाट रोराङ गाउँपालिका जोड्ने हिक्लुङघाटको झोलुंगे पुल त्रिशूलीको बाढीले क्षति पुर्याएको छ । सो अवसरमा अन्य विकास निर्माणलगायत विषयमा समेत प्रधानमन्त्रीसँग महत्वपूर्ण छलफल भएको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।
यस्तै सुदूरपश्चिम अत्यधिक वर्षाका कारण आएको बाढी र पहिरोले पुर्याएको क्षति तथा भीमदत्त राजमार्गमा भएको अवरोध खुलाउने विषयमा सुदूरपश्चिम प्रदेशका नेकपा(माओवादी केन्द्र)का नेताहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । वैकल्पिक मार्गका रूपमा रहेको दैजी जोगबुढी सडक सञ्चालन गर्ने विषयमा समेत सो अवसरमा छलफल भएको थियो ।
छलफलकै क्रममा प्रधानमन्त्री प्रचण्डले भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्रालयका सचिव केशवकुमार शर्मालाई टेलिफोन गरी भीमदत्त राजमार्ग नियमित सञ्चालन हुने वातावरण बनाउन र दैजी जोगबुढा सडक सञ्चालनका लागि आवश्यक प्रबन्ध गर्न निर्देशन दिएको सुदूरपश्चिम प्रदेशसभाका सदस्य ओमविक्रम भाटले जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्डले बाढी प्रभावित क्षेत्रमा शीघ्र राहत तथा उद्धारको प्रबन्ध गर्नसमेत निर्देशन दिएका छन् ।
प्रतिक्रिया