डेढ लाख सरकारी जागिर खारेज गर्ने पाकिस्तान सरकारको निर्णय

डेढ लाख सरकारी जागिर खारेज गर्ने पाकिस्तान सरकारको निर्णय


काठमाडौँ । मुद्रास्फीति र नगदको संकटसँग जुधिरहेको पाकिस्तानको लागि यो समय निकै कष्टकर छ ।

यस अघि नै सरकारले खर्च धान्न नसकेर पेन्सन कटौती गरेको थियो । अब राष्ट्रपति शहबाज शरीफ सरकारले डेढ लाख सरकारी जागिर हटाउने निर्णय गरेको छ ।  पाकिस्तानका अर्थमन्त्री मुहम्मद औरङ्गजेबले घोषणा गरेअनुसार सरकारले लागत घटाउन र दक्षता बढाउन डेढ लाख रोजगारी कटौती गर्ने निर्णय गरेको हो । सरकारले सम्बन्धित निकायको संख्या आधाले घटाउने पनि उनले बताए ।

‘हामी चरणबद्ध रूपमा संघीय सरकारको आकार घटाउँदै छौँ । अहिलेसम्म ८० विभागहरूलाई ४० मा समायोजन गरिसकेको छ ।’ पत्रकार सम्मेलनमा औरंगजेबले भने । सरकारले यी सुधारहरू जुन २०२५ सम्म पूरा गर्ने लक्ष्य राखेको पनि उनले बताए । ६० प्रतिशत रिक्त पदहरू खारेज गरिएको र यो करिब डेढ लाख सरकारी जागिर बराबर हुने उनको भनाइ छ ।

यसअघि नै पाकिस्तान सरकारले बढ्दो पेन्सन खर्चलाई कम गर्न सेवा निवृत्त कर्मचारी र सेनाका कर्मचारीहरूको पेन्सन सुविधामा ठूलो कटौतीको घोषणा गरेको थियो । पाकिस्तानी सञ्चार माध्यममा छापिएका खबरका अनुसार तीन वटा छुट्टाछुट्टै अधिसूचना जारी गरिएको थियो जसमा पहिलो पटक खाइपाई आएको पेन्सन कटौती गरिएको थियो । यसमा भविष्यमा निवृत्तिभरण वृद्धि निर्धारण गर्ने आधार पनि परिवर्तन गरिएको थियो ।

विगत ४/५ वर्षयता पाकिस्तानमा महँगी निकै बढेको छ । एजेन्सी