काठमाडौँ । सूर्यदर्शन सहकारी ठगी मुद्दामा पक्राउ परेकाहरूको थुनछेक बहस सकिन लाग्दा जिल्ला अदालत कास्की आसपास सुरक्षा व्यवस्था कडा गरिएको छ ।
कोमाकाने पार्कदेखि राष्ट्र बैंक चोकसम्म सवारीसाधन प्रवेश रोकिएको छ । पैदल यात्रुलाई पनि सो क्षेत्रमा निषेध गरिएको छ ।
नीतिज राईको इजलासमा आज आरती गुरुङ, पूर्वसांसद मीना गुरुङ र कृष्णबहादुर गुरुङका वकिलले बहस गरे । यसअघि रास्वपा सभापति रविसहित पूर्वडीआईजी छविलाल जोशी, लीला पछाईं र रामबहादुर गुरुङ पक्षका वकिलले बहस गरेका थिए ।
कास्की अदालतका श्रेस्तेदार राजन खनालका अनुसार अब जाहेरवालातर्फबाट वकिलले जवाफी बहस गर्नेछन् । सरकारी वकिलले बिहीबार जवाफी बहस गर्नेछन् । बिहीबार नभए शुक्रबार आदेश आउने सम्भावना छ ।
जिल्ला सरकारी वकिल कार्यालय कास्कीले पुस ५ र पुस ७ गते गरी सूर्यदर्शन सहकारी ठगीमा संलग्न ६३ जनाविरुद्ध कास्की अदालतमा मुद्दा दायर गरेको थियो । वकिल कार्यालयले १ करोड ५१ लाखभन्दा बढी बिगो माग दाबी गरेको छ ।
प्रतिक्रिया