काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको मुद्दामा थुनछेक बहस सकिएको छ । न्यायाधीशले आजै आदेशको तयारी गरेका छन् ।
जिल्ला अदालत काठमाडौँमा भएको थुनछेक बहसमा आज रविको तर्फबाट बहस भएको थियो । पूर्वमहान्यायाधीवक्ताद्वय सुशील पन्त र रमण श्रेष्ठ तथा अभिवक्ताहरू सुरज बस्नेत र सुरेन्द्र थापाले रविको पक्षबाट बहस गरे ।
अर्का वकिल राजेन्द्र प्रसाद सेढाईंले पनि बहसको माग गरेका थिए, तर न्यायाधीशले समयअभाव देखाएपछि उनले छोटो लिखित राय मात्र दिए ।
रविको पक्षबाट बहस सकिएपछि सरकारी वकिलहरू खणिन्द्र कटुवालले जवाफी बहस गरे । यस्तै जाहेरीकर्ताको तर्फबाट दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारीले बहस गरे । अन्त्यमा रवि लामिछानेले आफ्नो कुरा राख्न पाँच मिनेटको समय मागेका थिए ।
न्यायाधीश माधवप्रसाद अधिकारीले पहिलेको कुरा नदोहोर्याउन आग्रह गर्दै बोल्न समय दिए । रविले आफूले पाएको १५ प्रतिशत सेयरबारे प्रष्ट्याएका थिए । यो सेयर आफ्नो लोकप्रियताका लागि कम्पनीले यत्तिकै दिएको उनले बताए ।
बहसहरु सकिएपश्चात न्यायाधीसले सबैलाई बाहिर पठाएका छन् र आदेश लेख्ने तयारी गरेका छन् ।
प्रतिक्रिया