कन्कार्ई पुलको निर्माण विगत १३ वर्षदेखि अलपत्र

कन्कार्ई पुलको निर्माण विगत १३ वर्षदेखि अलपत्र

पाँच पटकसम्म ठेक्काको म्याद थप गर्दा पनि बनेने पुल ,ठेक्का रद्द गरी नयाँ प्रक्रिया अगाडि बढाउने तयारी


भद्रपुर । हुलाकी राजमार्गको पूर्वी खण्ड झापा जिल्लाअन्तर्गत पर्ने झापा गाउँपालिका वडा नंं २ र गौरीगञ्ज गाउँपालिका वडा नं १ जोड्न कन्कार्ई पुलको निर्माण विगत १३ वर्षदेखि अलपत्र परेको छ . विसं २०६८ मा निर्माण सम्झौता भएको पुल हालसम्म पनि नबन्दा यहाँका स्थानीय बासिन्दाले सास्ती बेहोर्न परेको छ ।

यो पुल निर्माण सम्पन्न भएको भए झापा जिल्ला कोशी प्रदेश राजधानी विराटनगरबीचको यातायात सहज हुने थियो । यो पुल निर्माण सम्पन्न नहुँदा यस क्षेत्रको व्यापार व्यवसाय तथा पर्यटन प्रवद्र्धनमा समेत असर परेको छ । हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय इटहरीका अनुसार २०६८ जेठ ३० गते चार वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनीलाई ठेक्का दिएको थियो ।

२०७२ को जेठ २९ मा काम सक्नुपर्ने समयसीमा तोकिएको भए पनि, हालसम्म पुलको ५८ प्रतिशत भौतिक प्रगति भएको छ । पाँच पटकसम्म ठेक्काको म्याद थप गरिए पनि निर्माणमा गति आउन नसकेको कार्यालयका सूचना अधिकारी समेत रहनुभएका इञ्जिनियर प्रभात किरण राईले जानकारी दिए । उनका अनुसार पाँचौँ पटक थप भएको म्याद २०८० सालको असारमा सकिएको थियो ।
पुल निर्माणको काममा प्राविधिक त्रुटि देखिएपछि कार्यालयको अनुरोधमा पुल्चोक इञ्जिनियरिङ क्याम्पसको विशेषज्ञ टोलीले अध्ययन गरी सुझावसहितको प्रतिवेदन बुझाएको छ ।
प्रतिवेदनअनुसार देखिएका समस्याको समाधान गरी काम अगाडि बढाउन पटक–पटक निर्देशन दिइए पनि निर्माण कम्पनी काम सुरुआत नगरेको इञ्जिनियर राईले बताए । उनका अनुसार अझै पनि काम सुरु गर्न आनाकानी गरिराख्ने हो भने ठेक्का रद्द गरी नयाँ प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको छ ।