काठमाडौँ । न्याय परिषद् सदस्यमा प्रस्तावित दामोदर खड्काको संसदीय सुनुवाइ सुरु भएको छ । बिहीबार सिंहदरवारमा बसेको संसदीय सुनुवाइ समितिले खड्काको संसदीय सुनुवाइ थाल्दै उजुरी आह्वान गरेको छ ।
खड्कालाई न्याय परिषद् सदस्य बनाउन उपयुक्त छैन भन्ने लागेको खण्डमा १० दिनभित्र उजुरी दिन सकिनेछ । उजुरीकर्ताले चाहेमा उनीहरूको नाम, थर र वतन गोप्य रहनेछ ।
समितिको बैठकमा समिति सभापति ईश्वरीदेवी न्यौपानेले खड्काको नाम प्रस्ताव गरी संसदीय सुनुवाइ हुन न्याय परिषद्बाट समितिसमक्ष आएको बताइन् ।
संसदीय सुनुवाइ समितिको कार्यविधि २०८० को दफा १२ बमोजिम प्रस्तावित व्यक्तिका सम्बन्धमा सर्वसाधारणलाई जानकारी दिने र निजको सम्बन्धमा कुनै सूचना वा उजुरी भए समितिसमक्ष दिने प्रयोजनका लागि उक्त सूचना सरकारी सञ्चारमाध्यममार्फत सार्वजनिक गर्न प्रस्ताव गरिएको हो ।
प्रस्तावलाई समितिले सर्वसम्मत पारित गरेको छ । समितिको बैठक अर्को सूचना जारी भएपछि बस्ने गरी आजको बैठक स्थगित गरिएको छ ।
प्रतिक्रिया