मेलम्चीकाे मुहान जाने बाटाे बाढीले बगायाे, बाटाे नबनाए पानी राेक्ने पालिकाकाे चेतावनी

मेलम्चीकाे मुहान जाने बाटाे बाढीले बगायाे, बाटाे नबनाए पानी राेक्ने पालिकाकाे चेतावनी


काठमाडाैँ ।

निरन्तर वर्षापछि आएकाे बाढीका कारणा मेलम्ची खानेपानी आयोजनाको मुहान स्थल जाने बाटाे अवरुद्ध भएकाे छ ।

मेलम्चीकाे मुहान रहेकाे अम्बाथान जाने बाटोमा बाढीले क्षति पुर्‍याएको हाे ।  हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाका अनुसार मेलम्ची खोलामा आएको बाढीका कारण हेलम्बु गाउँपालिकाको ढुंगे बजारबाट अम्बाथानसँगकाे सडक समपर्क विच्छेद भएकाे छ ।

बाढीका कारण पालिकाका कतिपय बस्ती, सार्वजनिक संरचना, खेतीयोग्य जमिनसमेत जोखिममा छन् । यसप्रति संघ र प्रदेश सरकारकाे ध्यान जान नसकेकाे भन्दै अध्यक्ष शेर्पाले चिन्ता व्यक्त गरे ।

बर्खाका कारण मेलम्चीकाे पानी काठमाडौँ ल्याउन अहिले बन्द गरिएकाे छ । यहाँकाे पानी लगेर संघ सरकारले नाक फुलाउने भन्दै अध्यक्ष शेर्पाले यहाँकाे सडक मर्मत पनि संघ सरकारले नै गर्नुपर्ने बताए । राष्ट्रिय गौरवको आयाेजना भएकाले संघ र प्रदेश सरकारले यसमा ध्यान दिन जरुरी रहेकाे उनकाे भनाइ छ ।

यसबारेमा मेलम्ची खानेपानी आयाेजनाले पनि चासाे नदिएकाे उनकाे आराेप छ । ‘हाम्राे पालिकामा आन्तरिक स्राेत छैन । यस वर्ष बजेट पनि घटाएर पठाएकाे छ । त्यसबाट पालिकाले विकासमा ध्यान दिनु कि हरेक वर्ष आउने विपत्तिमा प्रयाेग गर्नु ?,’ उनले आक्राेश पाेखे, ‘अहिले खानेपानी आयोजनाको काम बन्द भए पनि संघ सरकार र आयाेजनाले बेवास्ता गर्न मिल्दैन । यहाँबाट फैरि पानी लानुपर्छ भने सरकारले बाटाे बनाइदेओस् ।’

अहिले पाटीभञ्ज्याङ हुँदै हेलम्बु जोड्ने वैकल्पिक सडक सञ्चालनमा पालिकाले काम गरिरहेकाे उनले बताए । बाढीका कारण हेलम्बुमा सडक यातायात पूर्ण रूपमा टुटेकाले वैकल्पिक सडक सञ्चालनमा ल्याएर भए पनि पालिकालाई सडक सञ्जालमा जोड्ने उनले बताए ।