पुष्प व्यवसाय : वर्षमै ३ अर्बभन्दा बढीकाे काराेबार, नेपालकाे उत्पादनले नधानेपछि आयातकै भर

पुष्प व्यवसाय : वर्षमै ३ अर्बभन्दा बढीकाे काराेबार, नेपालकाे उत्पादनले नधानेपछि आयातकै भर


काठमाडौँ ।

आर्थिक वर्ष २०७९/८० मा फूल व्यवसायमा ३ अर्ब ७ करोड रुपैयाँको कारोबार भएको छ । उक्त कारोबार आर्थिक वर्ष २०७८/८९ भन्दा ७७ करोडले बढी हो ।

  कोरोना महामारीको त्रास कायमै रहेकाले आव २०७८/८९ मा २ अर्ब ३० करोड रुपैयाँको फूलको कारोबार भएको थियो ।

अघिल्लो आर्थिक वर्षको भन्दा ३३ दशमलव ६३ प्रतिशतले बढेर आव २०७९/८० मा ३ अर्ब ७ करोडको कारोबार भएको फ्लोरिकल्चर एसाेसिएसनका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिए ।

गत आर्थिक वर्षका लागि एसाेसिएसनले ३ अर्बको कारोबार हुने अनुमान गरेको भए पनि लामो समय कोरोना महामारीका कारण थला परेको यस व्यवसायले पुरानै लय लिएसँगै कारोबार रकम बढेको हो ।

विशेष गरी विवाह, व्रतबन्ध, सभा सम्मेलन, सेमिनारमा बढी प्रयोग हुने फूल ५ वर्षअघि विश्वभर फैलिएको कोरोना महामारीको समयमा अत्यन्तै कम कारोबार भएको थियो । उक्त समयमा कारोबार मात्र कम नभई लाखौँ फूलहरू नष्ट भएको थियो ।

कोरोनाअघि हरेक वर्ष यस व्यवसायले वार्षिक ३अर्ब ३० करोडसम्मको कारोबार गर्ने गरेको थियो । यसमा वार्षिक १८ करोडको रातो गुलाबको मात्रै कारोबार हुने गरेको थियो ।

विशेष गरी तिहारमा प्रयोग हुने मखमली र गोदावरी फूल स्वदेशी उत्पादनले नै पुग्ने गरेको भए पनि तिहारमा नै प्रयोग हुने सयपत्री र अन्य समयमा प्रयोग हुने रातो गुलाब भने छिमेकी मुलुक भारतबाट ल्याउनुपर्ने बाध्यता टरेको छैन ।

कोरोना महामारीअघि गुलाबको आन्तरिक उत्पादन राम्रो रहे पनि पछिल्लो सयय यसको उत्पादन घढ्दै गएका कारण पनि हरेक वर्ष आयात गर्ने गुलाबको मात्रा र मूल्य बढ्दै गइरहेको बताइएको छ ।

नेपालमा २००७ सालदेखि सुरु भएको पुष्प व्यवसाय सहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदै गएको भए पनि बजार मागअनुसार स्वदेशी उत्पादनले नै धान्न सक्ने अवस्था नभएको एसाेसिएसनले बताएको छ ।

रातो गुलाब विशेष गरी काठमाडौँ उपत्यकाका ३ जिल्ला र काभ्रेपलाञ्चोकमा व्यावसायिक रूपमा लगाउने गरिएको छ । फूलको मागमा आएको वृद्धिसँगै विशेष गरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४८ जिल्लामा लगभग ५०५ नर्सरी विस्तार भएका छन् ।

व्यावसायिक रूपमा ४५० प्रजातिका फूल नेपालमा उत्पादन हुँदै आएको छ । यस व्यवसायबाट ४४ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभ लिएका छन् । नेपालमा लगभग २२१ हेक्टर क्षेत्रफलमा १ हजार ११६ व्यवसायीले यसको खेती गर्दै आएका छन् । यस व्यवसायमा ७ अर्बभन्दा बढीको लगानी रहेको बताइएको छ ।

अहिले महामारीको त्रास छैन । मठमन्दिर, पार्टी प्यालेस पूर्ववत रूपमा नै सञ्चालनमा छन् । विभिन्न किसिमका सभा–सम्मेलन र पर्यटन व्यवसाय पनि सञ्चालमा आउँदा फूलको व्यापार पूर्ववत नै हुन थालेको छ । गत आर्थिक वर्षको वैशाखमा स्थानीय तहको निर्वाचन तथा मंसिरमा भएको आमनिर्वाचनका कारण पनि उल्लेख्य मात्रामा फूलको कारोबार भएको अध्यक्ष तामाङ बताउँछन् ।

रमाइलो र उत्सवमा बढी प्रयोग हुने फूल कोरोना महामारीका कारण बारीमै खेर फाल्नु परेपछि महामारीको समयमा यस व्यवसायमा आबद्ध जनशक्ति अन्य पेसामा पलायन भएको बताइएको छ । विगत ४ वर्षदेखि निकै नोक्सानीको सामना गरिरहेको यस व्यवसायले गत आवमा भने अनुमानित लक्ष्यभन्दा बढी आर्थिक कारोबार गरेको छ ।

 

काठमाडाैँ महानगरको निर्णयले कारोबार बढ्ने अनुमान

काठमाडौँ महानगरपालिकाले गत साउन १ गतेदेखि प्लास्टिकबाट निर्मित फूल र सजावटका सामग्री बिक्री वितरणमा रोक लगाएसँगै फूलको कारोबार बढ्ने अनुमान गरिएको छ । बोटमा फुल्ने फूल र प्लास्टिकबाट निर्मित सजावटका सामग्रीमध्ये ६० प्रतिशत काठमाडौँ उपत्यकामा प्रयोग हुने गरेको छ ।

कामपाले एकल प्रयोगको प्लास्टिकलाई निषेध गर्ने, प्लास्टिकको फूलगुच्छा उत्पादन, बिक्री वितरण र आयातमा समेत रोक लगाएकाले उत्पादित फूलको कारोबार थप बढ्ने अनुमान गरिएको हो ।

कामपाले गत साउन १ गतेदेखि ४० माइक्रोनभन्दा पातला प्लास्टिकमा प्रतिबन्ध लगाएको छ । कामपा प्रमुख बालेन्द्र साहले चालु आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा उक्त कुरा बताएका थिए ।

बढी मात्रामा प्लास्टिकको प्रयोगले वातावरण बिगारेको र जसका कारण मानव स्वास्थ्यमा पनि असर गरेको भन्दै कामपाले प्लास्टिक प्रयोगमा निषेध गरेको हो ।

प्लास्टिक र प्लास्टिकबाट निर्मित सजावटका सामग्री प्रयोगको अवस्था के छ भन्नेबारे जानकारी लिन र त्यस्ता सामग्री प्रयोग नगर्न आग्रह गर्न अहिले कामपाले नियमित अनुगमन पनि गरिरहेको छ ।