नयाँ भरतपुर -हेटौंडा-भरतपुर-बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइनको उदघाटन आज

नयाँ भरतपुर -हेटौंडा-भरतपुर-बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइनको उदघाटन आज


नयाँ भरतपुर -हेटौंडा-भरतपुर-बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइनको उदघाटन आज

काठमाडौं ।

नयाँ भरतपुर २२०/१३२ किलोभोल्ट (केभी) सबस्टेसन र हेटौंडा-भरतपुर-बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइनको आज उदघाटन हुँदै छ ।

प्रधानमन्त्री प्रचण्डले आज सबस्टेसज र प्रसारण लाइनको उदघाटन गर्न लागेका हुन् । त्यसका लागि प्रधानमन्त्री प्रचण्ड आज मध्याह्न हवाई उडानमार्फत् चितवन जाँदै छन् ।

प्रधानमन्त्री प्रचण्डले चितवनको भरतपुर महानगरपालिका-११ आँपटारीमा मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत निर्माण गरिएको ‘ग्याँस इन्सुलेटेड सबस्टेसन (जिआईएस) प्रविधिमा आधारित सबस्टेसनको उद्घाटन गर्ने कार्यक्रम छ ।

नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र युरोपेली लगानी बैंक (ईआइबी)को सहुलितपूर्ण ऋणमा सबस्टेसन र नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा हेटौंडा-भरतपुर-बर्दघाट २२० केभी प्रसारण लाइन निर्माण गरिएको हो ।

सबस्टेसन २०७७ को असारमा ठेक्का लागेर २०८० को साउनमा निर्माण सम्पन्न भएको थियो । यसको कूल लागत एक अर्ब ५२ करोड छ ।

हेटौंडा-भरतपुर-बर्दघाट २२० केभी प्रसारण लाइनको लम्बाइ करिब १४७ किलोमिटर छ । ७ अर्ब ९४ करोड कूल लागतमा निर्माण सम्पन्न भएको यो प्रसारण लाइनबाट एक हजार मेगावाटसम्म विद्युत् प्रवाह गर्न सक्ने क्षमता छ ।

दोस्रो खण्डअन्तर्गत नयाँ भरतपुर सबस्टेसनबाट सुरु भई बर्दघाट सबस्टेसनमा अन्त्य हुने ७४ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइनलाई हाल १३२ केभीमा सञ्चालनमा ल्याइएको छ ।