काठमाडौं . गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न महाधिवेशनलाई सफल बनाउन र संगठनको एकता जोगाउन सहमतिको प्रयास भइरहेको छ। विकासटाइम्ससँगको कुराकानीमा अध्यक्ष पदका दावेदार महेश कुमार श्रेष्ठले ठूलो मन बनाएर सबैलाई समेट्ने गरी सहमति हुनुपर्ने बताएका छन्।
श्रेष्ठले भने, ‘अहिलेको अवस्थामा हाम्रो पक्ष फेरि अदालतमा जानु पर्ने हुन्छ, त्यही पनि एउटा समूह बाहिर नै रहने खतरा छ। यस्तो अवस्थामा हामीबीच सहमतिको विकल्प छैन।’
श्रेष्ठले आफू अध्यक्षको स्वाभाविक दावेदार भए पनि सहमतिका लागि आफू बाधक नहुने स्पष्ट पारे। ‘म स्वाभाविक रुपमा अध्यक्षको दाबेदार हो, तर सहमति र एकताका लागि तयार छु। अहिले विषम परिस्थितिमा महाधिवेशन हुन गइरहेको छ, अब आउने नेतृत्वले छुट्टिएका सबैलाई पुनः स्वागत गर्न सक्नुपर्छ, म त्यसका लागि सक्षम छु,’ उनले भने।
महाधिवेशन स्थगित गर्ने सम्भावना अस्वीकार गर्दै श्रेष्ठले तयारी पूरा भएकाले तय मितिमा नै महाधिवेशन हुनुपर्ने बताए। ‘एकता महाधिवेशनका लागि डेलिगेटहरू काठमाडौं आइपुगेका छन्, कतिपय बाटोमै छन्। यस्तो अवस्थामा अब महाधिवेशन पर सार्नु हुँदैन,’ श्रेष्ठले भने, ‘महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेर त्यसपछि पनि एकताको प्रयास जारी राख्नुपर्छ।’
एनआरएनएको अध्यक्षका लागि अर्का शर्मा र कृष्ण पौडेल पनि प्रतिस्पर्धामा छन्। हाल ल्यान्कास्टर, पेनसिल्भानिया/गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेश कुमार श्रेष्ठले एकता पक्षधरहरूबीच एकता कायम रहने विश्वास व्यक्त गरेका छन्।
एनआरएनएको एकता महाधिवेशन मे ३–५ गते काठमाडौंमा हुँदैछ। यद्यपि, डा. बदी केसी नेतृत्वको पक्षले महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरिसकेका छन्।
श्रेष्ठले अदालतबाट अन्यथा आदेश नआए महाधिवेशन तोकिएकै मितिमा सम्पन्न हुने र त्यसपछि नेतृत्व सर्वसम्मत बनाउन प्रयास गरिने बताए।

प्रतिक्रिया