काठमाडौं । भारतले पाकिस्तानमा ‘अप्रेशन सिन्दूर’ नामक हवाई आक्रमण गरेको छ। बुधबार बिहान करिब १:४४ बजे पाकिस्तान अधिकृत कश्मीर र पूर्वी पञ्जाबका नौ आतंकवादी क्षेत्रलाई निशाना बनाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आक्रमणमा ३० जनाको मृत्यु भएको दैनिक भास्करले उल्लेख गरेको छ।
पहलगाममा अप्रिल २२ मा भएको आतंकवादी हमलामा एक नेपालीसहित २६ जनाको हत्या भएको १५ दिनपछि भारतले यो कारबाही गरेको हो। बहावलपुर, मुरीदके, बाघ, कोटली र मुजफ्फराबादमा हवाई हमला गरिएको थियो। भारतीय सेनाले लश्कर–ए–तय्यबा र जैश–ए–मोहम्मदको मुख्यालय नष्ट गरेको दाबी गरेको छ। पाकिस्तानका स्थानीय मिडियाले बहावलपुरमा ३० जनाको मृत्यु भएको पुष्टि गरेका छन्।
पाकिस्तानको इन्टर–सर्भिसेस पब्लिक रिलेशन्सका डाइरेक्टर लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले भारतले २४ मिसाइल प्रहार गरेको बताए। पाकिस्तानले यो आक्रमणलाई ‘युद्धको कार्य’ भन्दै जवाफी कारबाही गर्ने चेतावनी दिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो अप्रेशनलाई युद्ध कक्षबाट निगरानी गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
भारतीय सेनाले पाकिस्तानी सैन्य ठेगानालाई निशाना नबनाइएको र यो आक्रमण ‘नियन्त्रित र गैर–विस्तारकारी’ भएको दाबी गरेको छ।

प्रतिक्रिया