कर्णाली राजमार्ग चार दिन बन्द, कालिकोट, बाजुरा र हुम्लामा असुविधा

कर्णाली राजमार्ग चार दिन बन्द, कालिकोट, बाजुरा र हुम्लामा असुविधा


कालिकोट । कर्णाली राजमार्गको खुलालु–लालीघाट सडकखण्ड मर्मत र स्तरोन्नतिका लागि आगामी मंगलबार (जेठ २०) देखि चार दिनसम्म पूर्ण रूपमा बन्द हुने भएको छ। यो बन्द जेठ २४ गते बेलुकासम्म कायम रहनेछ।

जिल्ला प्रशासन कार्यालय कालिकोटमा शुक्रबार बसेको सरोकारवालाको बैठकले सडक निर्माण र मर्मत कार्यलाई सहज बनाउन यो निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले बताए। उनले भने, “साँघुरो र अप्ठ्यारो करिब एक किलोमिटर सडकखण्डमा आवश्यक संरचना निर्माण र मर्मतका लागि सवारी आवागमन पूर्ण रूपमा रोकिनेछ।”

यो बन्दका कारण कर्णाली राजमार्ग हुँदै यात्रा गर्ने सवारीसाधन जिते हुल्ममा रोकिनेछन्। हुम्ला, बाजुरा, र कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका, रास्कोट नगरपालिका, पचालझरना गाउँपालिका, र पलाता गाउँपालिकाबाट आउने सवारीसाधन लालीघाटमा रोकिएर यात्रुहरूलाई गन्तव्यतर्फ पठाउने व्यवस्था गरिनेछ।

सडक डिभिजन कार्यालयको ठेक्का सम्झौताअनुसार निर्माणाधीन उक्त खण्डको मर्मत र स्तरोन्नति कार्यले कालिकोट, बाजुरा, र हुम्लाका बासिन्दालाई यात्रा र ढुवानीमा असुविधा हुने देखिन्छ। प्रशासनले निर्माण कार्यलाई तीव्रता दिन र समयमै सम्पन्न गर्न यो कदम चालिएको जनाएको छ।

यात्रु र स्थानीयलाई यो अवधिमा वैकल्पिक व्यवस्था गर्न र सडक बन्दको समयावधि ख्याल गर्न प्रशासनले अनुरोध गरेको छ।