हाइअल्टिच्युड तालिमबाट २४ राष्ट्रका ३३८ जना सैनिक शिक्षार्थी दीक्षित

हाइअल्टिच्युड तालिमबाट २४ राष्ट्रका ३३८ जना सैनिक शिक्षार्थी दीक्षित


काठमाडौँ । मुस्ताङको घरपझोङ गाउँपालिका-५ स्थित कैसाङमा रहेको सैनिक उच्चशिखर शिक्षालयमार्फत हालसम्म ‘हाइअल्टिच्युड तथा माउन्टेन वारफायर’सम्बन्धी तालिम लिएका नेपालसहित २४ राष्ट्रका ३३८ सैनिक शिक्षार्थी दीक्षित भएका छन् ।

मुस्ताङमा बर्सेनि हाइअल्टिच्युड तथा माउन्टेन वारफायरसम्बन्धी आधारभूत तथा एडभान्स तालिम सञ्चालन हुने गरेको सैनिक जनसम्पर्क निर्देशनालय काठमाडौँले जनाएको छ ।

मुस्ताङमा हाइअल्टिच्युड तथा माउन्टेन वारफायर तालिम सञ्चालनका लागि नेपाली सेनाको जंगी अड्डाले २०३२ सालमा सैनिक उच्च शिखर शिक्षालय स्थापना गरेको थियो । 

स्थापनाको ५०औँ वर्ष पूरा गरिसक्दा नेपालसहित विभिन्न राष्ट्रका करिब सात हजार जनाले आधारभूत तालिम प्राप्त गरिसकेको र दुई हजार पाँच सय जनाले हाइअल्टिच्युड तथा माउन्टेन वारफायरसम्बन्धी एडभान्स तालिम प्राप्त गरिसकेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

नेपाली सेनाअन्तर्गत सैनिक उच्चशिखर शिक्षालय मुस्ताङबाट एडभान्स तालिम प्राप्त गरेका शिक्षार्थीमध्ये ५१ जनाले आठ हजार मिटरभन्दा माथिको हिमाल आरोहण गरिसकेका छन् ।

मुस्ताङबाट हाइअल्टिच्युड तथा माउन्टेन वारफायर तालिम कोर्स पूरा गरेका शिक्षार्थीमध्ये हालसम्म २९ जनाले सगरमाथा हिमालको आरोहण गरिसकेका छन् । मुस्ताङमा एडभान्स तालिम कोर्सबाट दीक्षित शिक्षार्थीलाई हिमाल आरोहणका लागि उत्पादन गर्ने गरिएको छ ।