संसद अवरोध खुलाउन काँग्रेस-एमाले र माओवादीबीच सहमति

संसद अवरोध खुलाउन काँग्रेस-एमाले र माओवादीबीच सहमति


काठमाडौँ । संसद अवरोध खुलाउन सत्ता पक्ष र प्रमुख प्रतिपक्ष दलका नेताहरू सहमत भएका छन् । नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्र संसद अवरोध  खुलाउन सहमत भएका हुन् ।

नेताहरूका अनुसार भिजिट भिसामा विदेश जानेसँग हुने गरेको भनिएको अपारदर्शी आर्थिक लेनदेनको विषयमाथि बृहत्तर छानबिन गर्ने सहमति भएको छ । यो विषयमा बिहीबार नै प्रमुख दलहरुबीच सहमति भएको थियो । त्यसलाई आज औपचारिकता दिने तयारी भइरहेको छ ।

नेताहरूका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा गर्ने अनुसन्धानलाई सघाउने र भिजिट भिसाबारे विगतदेखि देखिएका समस्याबारेमा सरकारले आवश्यक अध्ययन छानबिन गरी नीतिगत, कानुनी र संरचनागत सुधारका लागि कदम चाल्ने विषयमा सहमति जुटेको छ ।

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले पनि ३० दिन भित्र छानबिन समिति गठन गर्ने विषयमा सहमति जुटेको बताए । ‘सरकारले ३० दिनभित्र छानबिन समिति बनाउने र हामीले अवरोध खुलाउने गरी सहमति भएको छ,’ सापकोटाले भने, ‘सम्भवतः आजै संसद चल्छ ।’

रास्वपाले भने यसबारे धारणा सार्वजनिक गरिसकेको छैन । रास्वपा अहिले आन्तरिक छलफलमा छ ।