इरानद्वारा इजरायलको राजधानीमै हमला, कम्तिमा ८ जनाको मृत्यु

इरानद्वारा इजरायलको राजधानीमै हमला, कम्तिमा ८ जनाको मृत्यु


काठमाडौं । इरानले इजरायलमाथि गएराति भीषण हमला गरेको छ। आक्रमणमा परी कम्तीमा ८ जनाको मृत्यु हुनुका साथै सयौं घाइते भएका छन्।

बीबीसीका अनुसार इरानले इजरायलको राजधानी तेल अविवमा रहेको ब्याट याम र ताम्रा शहरमा ड्रोनमार्फत मिसाइल आक्रमण गरेको हो। ब्याट याममा ३ जनाको मृत्यु र १०० भन्दा बढी घाइते भएका छन्। मृत्यु हुनेमा ६९ वर्षीया महिला, ८० वर्षीय पुरुष र १० वर्षीय बालक रहेका छन्।

त्यसैगरी ताम्रामा भएको आक्रमणमा कम्तीमा ५ जनाले ज्यान गुमाएको इजरायली सञ्चार माध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। आक्रमणबाट घरहरुमा ठूलो क्षति पुगेको छ भने उद्धारकर्ता टोली भग्नावशेष पन्छाउँदै उद्दार कार्यमा खटिएका छन्।

यस आक्रमणसँगै इजरायलले पनि इरानको परमाणु कार्यक्रमसँग सम्बन्धित संरचनालाई लक्षित गरी आक्रमण गरेको छ। इजरायली हमलाबाट इरानको रक्षा मन्त्रालय र त्यससँग जोडिएका अनुसन्धान संस्थाहरुमा क्षति पुगेको बताइएको छ।

इरानको इस्लामिक रिभोल्युसनरी गार्ड (आईआरजीसी) ले शनिबार राति गरिएको आक्रमणबारे विज्ञप्ति जारी गर्दै इजरायलको फाइटर जेटलाई इन्धन आपूर्ति हुने स्थान र बिजुली प्रशारण केन्द्रमा लक्षित प्रहार गरिएको जानकारी दिएको छ।

आईआरजीसीका अनुसार इजरायलका तीन ट्रुज मिसाइल, १० ड्रोन र धेरै साना ड्रोनहरू आकाशमै नष्ट पारिएको दाबी गरिएको छ।

दुवै देशबीचको तनाव चुलिँदै जाँदा अन्तर्राष्ट्रिय समुदायले तत्काल संयमता अपनाउन आग्रह गरेको छ।