काठमाडौ – फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका चिकित्सक डा. केशव श्रेष्ठलाई प्रहरीले काठमाडौँको तार्केश्वर नगरपालिका–३ स्थित श्रिनाथ बुटिक रिसोर्टबाट सकुशल उद्धार गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले सोमबार उनलाई उद्धार गरेको हो।
जिल्ला अस्पताल रामेछापबाट रमाना लिएर हेटौँडामा हाजिर हुन गएका डा. श्रेष्ठले आफूलाई हाजिर नगराइएको भन्दै फेसबुकमा लामो स्टाटस लेखेका थिए। सोमबार बिहान चाबहिलस्थित गोपिकृष्णहल नजिकैको डेराबाट बुलेट मोटरसाइकलमा हिँडेका उनले स्टाटस लेखेपछि मोबाइल स्विचअफ गरेका थिए।
मोबाइल बन्द भएपछि प्रहरीले तीव्र खोजी सुरु गरेको थियो। काठमाडौँ प्रहरी परिसर, उपत्यका अपराध अनुसन्धान कार्यालय र साइबर ब्युरोको संयुक्त टोलीले उनको खोजीमा सक्रियता देखाएको थियो। काठमाडौँका एसएसपी विश्व अधिकारीले डा. श्रेष्ठलाई सकुशल उद्धार गरिएको पुष्टि गरे।
“हामीले उनलाई रिसोर्टमा फेला पारी उद्धार गरेका छौँ, उहाँ सुरक्षित हुनुहुन्छ,” एसएसपी अधिकारीले भने।
डा. श्रेष्ठको उद्धारसँगै सामाजिक सञ्जालमा चासो र चिन्ता व्यक्त गर्नेहरूले राहतको महसुस गरेका छन्। प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया