आरजु देउवाको पहलमा इरानमा फसेका नेपालीको उद्धारका लागि भारतको सहयोग

आरजु देउवाको पहलमा इरानमा फसेका नेपालीको उद्धारका लागि भारतको सहयोग


काठमाडौं-

इजरायल-इरान युद्धका कारण इरानमा समस्यामा परेका नेपाली नागरिकहरूको उद्धारका लागि भारत सरकारले सहयोग गर्ने भएको छ। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको पहल र अनुरोधमा इरानस्थित भारतीय दूतावासमार्फत नेपाली नागरिकहरूको उद्धार कार्य अगाडि बढ्ने भएको हो।

मन्त्री देउवाले इरानमा १६ जना नेपाली नागरिक रहेको जानकारी दिँदै भारत सरकारसँग उद्धारका लागि आग्रह गरेको बताइन्। उनले भारतीय राजदूत नविन श्रीवास्तवमार्फत भारत सरकारलाई आफ्ना नागरिकको उद्धार गर्ने क्रममा नेपालीहरूलाई पनि साथमा ल्याइदिन अनुरोध गरेकी थिइन्। “हाम्रा नागरिकको संख्या सानो छ, तर उनीहरूको सुरक्षाका लागि हामी भारतको सहयोगको अपेक्षा गरिरहेका छौँ,” मन्त्री देउवाले भनिन्।

नेपाल सरकारले इरानमा रहेका नेपाली नागरिकहरूको अवस्थाबारे निरन्तर जानकारी लिइरहेको छ। भारतको सहयोगमा उनीहरूको सुरक्षित उद्धार हुने विश्वास गरिएको छ।