काठमाडौ – नागढुंगा–मुग्लिन सडक खण्ड (९४.६६ किमि) मा गत वर्षको बर्खामा करिब ५०० स्थानमा साना–ठूला पहिरो खस्दा ठूलो धनजनको क्षति भएको थियो। झ्याप्ले खोलामा पहिरोले माइक्रो र बस पुरिँदा ३५ जनाले ज्यान गुमाएका थिए। तर, सरकारको ढिलासुस्ती र ठेकेदारको सुस्त कार्यप्रगतिका कारण यो वर्षको बर्खामा पनि पहिरोको जोखिम उस्तै रहेको छ।
सडक विभागका अनुसार यो राजधानीको ‘लाइफलाइन’ मानिने सडकबाट दैनिक १२,००० सवारीसाधन ओहोरदोहोर गर्छन्। दूध, तरकारी, खाद्यान्न, औषधिलगायत दैनिक उपभोग्य वस्तु यही मार्गबाट काठमाडौं भित्रिन्छ। सडक अवरुद्ध हुँदा राजधानीवासीको दैनिकी प्रभावित हुने जोखिम छ।
नागढुंगा–मुग्लिन सडक योजनाका पूर्वी खण्ड प्रमुख केशवप्रसाद ओझाले गत असोजको जस्तो ठूलो पानी परे पुराना पहिरोका स्थानमा फेरि जोखिम बढ्ने बताए। यो खण्डलाई तीन प्याकेजमा विभाजन गरी स्तरोन्नति भइरहेको छ।
नागढुंगा–नौबिसे खण्ड (१२.२६ किमि) मा ८४% प्रगति भएको छ। १२.१ किमिमा पहिलो तहको कालोपत्र सम्पन्न भए पनि झ्याप्ले खोलाको १०० मिटर खण्डमा पहिरो नियन्त्रणको काम बाँकी छ। यो खण्डको ठेक्का जाङ्सु–सगुन जेभीले १ अर्ब ३० करोडमा लिएको हो, तर म्याद थप हुँदा पनि साउन २०८२ सम्म काम नसकिने देखिएको छ।
नौबिसे–मलेखु खण्ड (४३.५४ किमि) को प्रगति ४२% मात्र छ। ५ अर्ब ३३ करोडमा जेडआईसीजी–शर्मा–लामा जेभीले ठेक्का लिएको यो खण्डमा १३ किमिमा पहिलो तहको कालोपत्र भएको छ। मलेखु–मुग्लिन खण्ड (३८.८६ किमि) को प्रगति सबैभन्दा कम ३१% छ। ४ अर्ब ८० करोडमा शर्मा–जेडआईसीजीले ठेक्का लिएको यो खण्डमा ८ किमिमा मात्र कालोपत्र भएको छ।
सडक विभागले जोखिम क्षेत्रमा एक्स्काभेटर, लोडर र ट्रिपर तैनाथ गरेको छ। झ्याप्ले खोला, कृष्णभीर, कमेरे भीर, घोप्टेभीरलगायत दर्जनौं स्थानमा पहिरोको जोखिम कायम छ। पश्चिम खण्ड प्रमुख केदारप्रसाद नेपालले बर्खामा कालोपत्रको काम कम हुने तर नाली र रिटेनिङ वालको काम जारी रहेको बताए।
कृष्णभीरमा सडक भासिनबाट जोगाउन माइक्रो पाइलिङ र ढलानको काम सकिएको छ। खानी खोलामा अपांगमैत्री अकासे पुल निर्माणाधीन छ।

प्रतिक्रिया