मुस्ताङको पोखरा–जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द

मुस्ताङको पोखरा–जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द


मुस्ताङ – बर्खायाममा हवाई यात्रुको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीहरूले पोखरा–जोमसोम रुटमा हवाई उडान दुई महिनाका लागि बन्द गर्ने निर्णय गरेका छन्।

तारा एअरलाइन्सले यही असार २ गतेदेखि उडान स्थगित गरेको कम्पनीका जोमसोम स्टेशन इञ्चार्ज सुजन लालचनले बताए। उनले भने, “हवाई यात्रुको कमी र प्रतिकूल मौसमका कारण उडान बन्द गरिएको हो। आगामी सेप्टेम्बरको पहिलो सातादेखि उडान पुनः सञ्चालन हुनेछ।”

यस्तै, समिट एअरलाइन्सले पनि असार २० गतेदेखि दुई महिनाका लागि यो रुटमा उडान बन्द गर्ने निर्णय गरेको स्टेशन इञ्चार्ज सुमन थकालीले जानकारी दिए। “हाल यो रुटमा दैनिक मुस्किलले एक उडान भइरहेको छ, यात्रुको सङ्ख्या पनि निकै कम छ,” उनले भने।

जोमसोम नागरिक उड्डयन कार्यालयका प्रमुख दीपक पोखरेलले मनसुन सुरु भएसँगै हवाई यात्रुको सङ्ख्या घटेको बताए। तारा एअरले उडान स्थगित गरिसकेको र समिट एअरले पनि केही दिनमा बन्द गर्ने उनले जानकारी दिए।

यसैगरी, जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीले बर्खायाममा हवाईमार्ग मात्र नभई सडकमार्गबाट जोमसोम आउने यात्रुको सङ्ख्यामा पनि कमी आएको बताए।