काठमाडौँ- चीनका लागि नेपाली राजदूत डा. कृष्णप्रसाद ओलीले द्विपक्षीय सम्बन्ध विस्तारसहित परिणाममुखी आर्थिक कूटनीतिका पक्षमा ‘लबिङ’ जारी रहेको बताएका छन्।
छिमेकी मित्रराष्ट्र चीनको युनान प्रान्तको राजधानी कुन्मिङमा आयोजित नवौँ चाइना-दक्षिण एसिया एक्स्पो तथा २९औँ चाइना कुन्मिङ आयात निर्यात मेलामा भाग लिन आउनुभएका राजदूत डा. ओलीले सरकारी तथा निजी क्षेत्रको चिनियाँ लगानीसहित नवीन प्रविधि नेपाल भित्र्याउने पक्षमा अहोरात्र खटिरहेको बताए ।
चीनको जस्तै भू-बनोट र हावापानी रहेको नेपालमा कृषि र जडीबुटी व्यवसायबाट लाभ लिन सकिने प्रशस्त सम्भावना रहको उल्लेख गर्दै कृषि, योजना तथा व्यवस्थापन क्षेत्रका विज्ञसमेत रहेका डा. ओलीले यसतर्फ चीन आर्जन गरेको विशिष्ट अनुभवसहित प्रविधि र लगानी नेपालमा भित्र्याउन सक्दो प्रयास गरिरहेको जानकारी दिए।
विशेष गरी कृषि तथा जडीबुटीका क्षेत्रमा चीनले गरेको विकास र प्रगति नेपाल मात्र नभई समग्र विश्वका लागि प्रेरणादायी र उदाहरणीय रहेको चर्चा गर्दै राजदूत डा. ओलीले चीनसँगको सहयोग र सहकार्यको नीतिलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरे ।
उनले विकास निर्माणसहित आर्थिक रूपले सम्पन्न एवं विशाल छिमेकी देश चीनबाट प्राप्त गर्न सक्ने कैयौँ थोक भए पनि हाम्रो सम्भावना, आवश्यकता र प्राथमिकताका आधारमा कृषि, जडीबुटी, पर्यटन, ऊर्जा, सूचना प्रविधिलगायतका क्षेत्रमा सहयोग लिइ देशलाई लाभान्वित तुल्याउन सक्नुपर्ने खाँचो औँल्याए।
राजदूत डा. ओलीले भने, “नेपालसँग ऐतिहासिक एवं घनिष्ठ सम्बन्ध रहेको छिमेकी मित्रराष्ट्र चीनले अहिले हरेक क्षेत्रमा चमत्कारिक एवं उदाहरणीय विकास गरेको छ ।
त्यसबाट नेपाल लाभान्वित हुन सक्नुपर्दछ । राजदूतका हैसियतले चीनको आधुनिक प्रविधि, अनुभव र लगानी नेपाल भित्र्याउने सरोकारवाला पक्षसँग चरणबद्ध रूपमा छलफल गरिरहेको छु । अहिलेसम्म यहाँ भएका द्विपक्षीय छलफल र भेटघाटका आधारमा साथ, सहयोग प्राप्त हुने विश्वास लिएको छु ।”
कृषि, शिक्षा, स्वास्थ्य, ऊर्जा, सूचना प्रविधि, पर्यटनजस्ता क्षेत्रमा सहकार्य गरी नेपाललाई लाभान्वित गर्ने पक्षमा आफू क्रियाशील रहेको जानकारी दिँदै उनले चीन सरकारका केन्द्रदेखि प्रान्तसम्मका अधिकारीसँग अहिलेसम्म सौहार्दपूर्ण वातावरणमा भएका भेटघाट तथा छलफलको परिणाम चाँडै आउने अपेक्षा गरे ।
चिनियाँ नेता तथा अधिकारीहरू र सर्वसाधारण जनतासमेत बुद्ध भूमि नेपाल तथा नेपालीको विकाससहित जीवनस्तर सुधारका पक्षमा रहेको जानकारी दिँदै राजदूत डा. ओलीले चीनको यस किसिमको मित्रवत् एवं घनिष्ठ सम्बन्ध र सदीक्षाबाट नेपाल लाभान्वित हुन सक्नुपर्नेमा जोड दिए ।
चीनमा अहिले कृषि क्षेत्रमा उत्पादकत्व वृद्धिदर उच्च विन्दुमा पुगेको बताउँदै नेपालले पनि उत्पादकत्व वृद्धिमा जाड दिई वस्तु निर्यात गर्न र बजार व्यवस्थापन गरी वास्तविक कृषकलाई लाभान्वित तुल्याउन पहल गर्नुपर्ने धारणा व्यक्त गरे ।
दुई देश र जनताकाबीच विशिष्ट सम्बन्ध भए पनि हाम्रा भाषाका कारण केही समस्या रहेको सन्दर्भ उल्लेख गर्दै उनले द्विपक्षीय सम्बन्धलाई जनस्तरसम्म विस्तार गरी पारस्परिक लाभका आधारमा नेपाली जनताको जीवनस्तर सुधार गर्ने राष्ट्रिय अभियानमा समग्र देश एक हुनुपर्ने समय आएको बताए ।
उनले विद्युतीय अपराध न्यूनीकरण तथा रोकथाममा छिमेकी दुई देशबीच सहकार्य हुनुपर्नेमा जोड दिए । राजदूत डा. ओलीले सीमा क्षेत्रमा हुने व्यापार, दुवै देशका पालिका स्तरीय भगिनी सम्बन्ध विस्तार, कृषि, उद्योग व्यवसाय, सूचना प्रविधि, विकास निर्माण, चिनियाँ लगानी, द्विपक्षीय सहयोग र सहकार्यलगायतका विषयमा चिनियाँ पक्षसँग चरणबद्ध रूपमा छलफल भइरहेको जानकारी दिए ।
यसैगरी दुई देशबीचको व्यापार-व्यवसायको विस्तारमा सहकार्य हुनुपर्नेमा जोड दिँदै नेपालदेखि तुलनात्मक रूपमा नजिकका ल्हासा, कुन्मिङजस्ता सहरबाट हुने व्यापार व्यवसायको प्रवर्द्धनमा नेपालको ध्यान जानुपर्ने उनले बताए ।
जलवायु परिवर्तन, जैविक विविधताको संरक्षण, दिगो विकास, विपत् व्यवस्थापन, सीमा सुरक्षालगायतका क्षेत्रमा सहकार्य गर्नुपर्नेमा राजदूत डा. ओलीले जोड दिए ।
नेपालका विभिन्न पालिकाले चीनका विभिन्न सहरहरूसँग भगिनी संस्था कायम गरिरहेको भन्ने सन्दर्भमा उनले बेइजिङस्थित नेपाली दूतावासलाई खासै जानकारी नहुने तर चिनियाँतर्फ भने यस किसिमको भगिनी सम्बन्ध विस्तर प्रक्रिया त्यति सजिले नरहेको बताए ।
चीनका लागि नेपाली राजदूत डा. ओलीले दक्षिण-पूर्वी एसियाली मुलुकहरूको समग्र विकाससहित यस क्षेत्रमा बसोबास गर्ने जनताको जीवनस्तर सुधार गर्न, आपसी सम्बन्ध अझ घनिष्ठ एवं प्रगाढ बनाउन तथा स्रोतसाधनको समुचित प्रयोग गरी यथाशक्य सबैलाई लाभान्वित तुल्याउन एक चलायमान एवं परिणाममुखी संयन्त्र निर्माण हुनुपर्ने धारणा व्यक्त गरे ।
यही असार ५ गतेदेखि प्रान्तीय राजधानी कुन्मिङमा आयोजित व्यापार मेला तथा प्रदर्शनी ९ गतेसम्म चलेको थियो ।
सो व्यापार मेलामा नेपालको तर्फबाट पस्मिनाजन्य लत्ताकपडा, नेपाली हस्तकलालगायतका सामग्रीसहित १४० प्रदर्शनी कक्ष रहेको नेपाली दूतावासले जनाएको छ ।

प्रतिक्रिया