परम्परागत सामग्री नबिकेपछि सुदूरपश्चिमका दलित समुदाय पेसा परिवर्तन गर्न बाध्य

परम्परागत सामग्री नबिकेपछि सुदूरपश्चिमका दलित समुदाय पेसा परिवर्तन गर्न बाध्य


डडेल्धुरा — सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा पुस्तौंदेखि चलिआएको परम्परागत पेसा संकटमा परेको छ। गाउँघरमा कृषिकर्म, अन्न भण्डारण र दैनिक प्रयोगका लागि प्रयोग गरिँदै आएका डोको, डाला, सुप्पा, भकारीजस्ता सामग्री अहिले लोप हुने अवस्थामा पुगेका छन्। आधुनिक प्रविधिको प्रवेश, प्लास्टिक तथा धातुजन्य आयातीत सामग्रीको प्रयोगमा वृद्धि र कच्चा पदार्थको अभाव यस लोपोन्मुख अवस्थाको मुख्य कारण बनेका छन्।

डडेल्धुरा, बझाङ, बैतडी, डोटी लगायत सुदूरपश्चिमका पहाडी क्षेत्रका दलित र जनजाति समुदाय परम्परागत रूपमा बाँस, निगालो र अन्य चोया प्रयोग गरी दैनिक प्रयोगका सामग्री निर्माण गर्दै आएका थिए। यी सामग्री मेला, पर्व र गाउँघरमै बिक्री गरेर उनीहरूले जीविकोपार्जन गर्दै आएका थिए। तर, पछिल्ला केही वर्षयता कच्चा पदार्थको अभाव र मागमा गिरावट आउँदा यो पेसा संकटमा परेको छ।

पाटन नगरपालिका–१० का वीरभान विकका अनुसार, पहिलेजस्तो निगालो र बाँस पाउन गाह्रो भएको छ। “सामुदायिक वनहरूबाट निगालो पाउन सकिँदैन, निजी बगैँचामा पनि उत्पादन कम भएको छ,” उनले भने, “गाउँमा ट्रक, मोटरसाइकल जस्ता साधन पुगेपछि बजारबाट सजिलोसँग प्लास्टिक र स्टिलका सामान आउन थालेका छन्।”

अमरगढी नगरपालिका–७ का टीका पार्कीले भने, “बाँस र निगालो पाउन छाडेपछि आयआर्जनको बाटो बन्द भयो। पहिले हामीले बनाएका सामग्री गाउँघरमै बिक्री हुन्थे, अहिले त माग नै छैन।” उनका अनुसार एक दशकअघिसम्म प्रतिडोको ४०० देखि ६०० रुपैयाँसम्म र डाला, नाङ्लो, भकारी जस्ता सामग्री एक हजारदेखि चार हजार रुपैयाँसम्ममा बिक्री हुन्थ्यो।

डोका, डाला, सुप्पा, नाङ्लो, चाल्लो, मानो, भकारी, टपरीजस्ता सामग्री दैनिक जीवनका महत्वपूर्ण अङ्ग थिए। विशेष गरी धान, मकै, गहुँ, कोदो जस्ता अन्न भण्डारणमा भकारीको ठूलो प्रयोग थियो। तर, आजभोलि ड्रम, प्लास्टिकका बोराहरू वा स्टिलका भाँडाहरू प्रयोगमा आउँदा परम्परागत सामग्रीको माग घटेको आलिताल गाउँपालिका–८ का जोगराज भट्ट बताउँछन्। “अब त गोरुबाट काम गरिँदैन, ट्र्याक्टर आउँछ। खाद्यान्न राख्न बजारबाट ड्रम किनिन्छ, सुप्पा त देखिन पनि छाडेको छ,” उनले भने।

यस पेसासँग सम्बन्धित धेरै मानिस वैकल्पिक रोजगारी खोज्न बाध्य भएका छन्। केही विदेश गएका छन्, केहीले मजदुरी रोजेका छन्। बाँस र निगालो बाहिरबाट ल्याएर सामग्री बनाउँदा लागत अत्यधिक हुने, तर बजारमा उचित मूल्य नपाइने हुँदा व्यवसाय निरन्तरता दिन गाह्रो परेको विकहरूको भनाइ छ।

“हामीले बनाएका सामग्री शहर बजारमा लैजान सजिलो छैन,” टीका पार्कीले भने, “स्थानीय बजारमै पनि बिक्री हुन छाडेको छ, थोरै बिक्री भए पनि ग्राहकले उचित मूल्य तिर्दैनन्।”

युवा पुस्ता वैदेशिक रोजगारी र व्यापार–व्यवसायतर्फ आकर्षित भइरहँदा यो पेसा सम्हाल्नेहरू दिनदिनै घट्दै गएका छन्। केही पाका पुस्ता अहिले पनि यो सीप जोगाइरहेका छन् तर राज्यको तर्फबाट प्रवर्द्धन, कच्चा पदार्थको सुनिश्चितता, बजारको पहुँच र सहुलियत कार्यक्रम नहुँदा यो परम्परागत सीप लोप हुने स्थितिमा पुगेको उनीहरूको भनाइ छ।