यी भूभागमा भारी वर्षाको सम्भावना, सतर्क रहन अनुरोध

यी भूभागमा भारी वर्षाको सम्भावना, सतर्क रहन अनुरोध


काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । साथै, मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।

महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थान तथा कोशी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत पहाडी भूभागका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षासहित हिमपातको सम्भावना छ ।

यस्तै, आज राति देशभर साधारणतया बदली रहने छ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मनसुनी वायुका कारण मुलुकका केही भूभागमा भारी वर्षाको सम्भावना रहेकाले भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिमप्रति आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आज सूर्योदय बिहान ५ बजेर १८ मिनेटमा भयो भने सूर्यास्त साँझ ७ बजेर १ मिनेटमा हुनेछ ।