काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगानीकर्तालाई नेपालमा ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनु पर्ने बताएका छन् । आज (मंगलबार) काठमाडौंमा इप्पानको २३औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । लगानीका लागि आउने जोसुकैलाई पनि सहज र सरल माध्यमबाट लगानी गर्ने वातावरण बनाउनु पर्ने उनले बताएका छन् ।
उनले लगानीकर्तालाई दुःख दिने कुरा सरकारले सोच्नै नसक्ने बताए । उनले उत्पादित विद्युतको खपत र व्यापार गर्ने दायित्व सरकारको भएको पनि उल्लेख गरे । यसका लागि निजी क्षेत्रलाई पनि सहभागी गराउनु जरूरी रहेको बताए । जलविद्युत आयोजनाहरूको आइपीओ निष्कासन रोक्नु गलत भएको र धितोपत्र बोर्डले चाँडै शेयर निष्काशन गर्ने उनले बताए । उर्जा क्षेत्र नेपालमा प्रकृतिले दिएको सम्पती भएको उनको भनाइ छ ।
पूर्व प्रधानमन्त्री देउवाले ग्रिन इनर्जीमा बढी जोड दिन पनि आग्रह गरे । सभापति देउवाले नेपालको आर्थिक तथा सामाजिक विकासमा प्राप्त उपलब्धिको पछि देशले अघि बढाएको उदारवाद निजीकरणको नीति रहेको बताए । यसको कार्यान्वयनका क्रममा भएका कमजोरीको अन्त्य गरी निजी क्षेत्रलाई थप प्रोत्साहित गर्नुपर्ने उनले बताए । निजी क्षेत्रबाट उत्पादन बढ्दै जानु खुशीको कुरा भएको उल्लेख गर्दै आज देशभित्र लोडसेडिङ नरहेको उनले बताए ।

प्रतिक्रिया