काठमाडौं, साउन ३।
प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण नभएको खुलासा गरेका छन्। शुक्रबार बसेको पोलिटब्युरो बैठकमा बोल्दै ओलीले पूर्वराष्ट्रपतिले कसैको उक्साहटमा सक्रिय राजनीतिमा फर्किनु नहुने बताए।
उनले पार्टीविरुद्ध बाहिर र भित्रबाट संगठित आक्रमण भइरहेको दाबी गरे। “पार्टीभित्रको अराजकता रोक्नुपर्छ, नभए पार्टीले रोक्छ,” ओलीले भने। उनले भण्डारीको सक्रिय राजनीतिमा फर्कने कुरा पत्रपत्रिकाबाट थाहा भएको र उनको सदस्यता नवीकरण नभएको जानकारी दिए। “यो निर्णय कमिटीले गर्छ,” प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेद्वारा उद्धृत ओलीको भनाइ छ।
ओलीले थपे, “पार्टीलाई दुईपटक राष्ट्रपतिमा पठाएको हो। संवैधानिक व्यवस्थाअनुसार उहाँले जिम्मेवारी लिनुभएको हो। उचालेका आधारमा सक्रिय राजनीतिमा फर्किनुहुँदैन। यो विश्वासको कुरा हो।” उनले पार्टीको पद्धति र प्रक्रियामा छलफल गरेर विधिसम्मत निर्णय लिइने स्पष्ट पारे।
पार्टीमाथि आक्रमण भइरहेका बेला बाहिर गएर बोल्नु उचित नहुने ओलीको भनाइ थियो। उनले पार्टी नेता कर्ण थापाको ‘कभर मात्र फरक पर्यो’ भन्ने अभिव्यक्तिप्रति पनि प्रश्न उठाए। “आखिर कभरको कुरा रहेछ, किन यस्तो बबण्डर?” उनले भने।

प्रतिक्रिया