काठमाडौं । नेकपा एमालेको नवौँ केन्द्रीय कमिटी बैठकमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन दिने कि नदिने भन्ने विषयमा तीव्र बहस भएको छ।
आजको बैठकमा कोशी प्रदेशका १९ जना केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखे। धारणा राख्नेमा किशोर अधिकारी, जीवन घिमिरे, राजेन्द्र राई, आशारत्न जवेगु, दीपक कार्की, रामलाल साह, युवराज बास्कोटा, इन्द्र भण्डारी, नैनकला ओझा, यज्ञराज सुनुवार, तुलसी न्यौपाने, भगवती चौधरी, मञ्जु भण्डारी, राम राना, टङ्क आङ्बोहाङ र प्रदेश अध्यक्ष घनश्याम खतिवडा रहेका छन्।
बैठकमा केन्द्रीय सदस्य युवराज बास्कोटाले भूगोलको जिम्मेवारी लिएका केही केन्द्रीय सदस्य लामो समय काठमाडौंमा बस्ने गरेको र यसले स्थानीय तहमा जनसम्पर्क कमजोर बनाएको टिप्पणी गरे। उनले पार्टीलाई पठाइएका जनप्रतिनिधि निजामती हाकिमजस्तो चरित्र बोकेको देखिएको भन्दै आचरण सुधारका लागि ठोस नीति ल्याउनुपर्ने आवश्यकता औंल्याए।
अर्का केन्द्रीय सदस्य जीवन घिमिरेले पूर्व राष्ट्रप्रमुखलाई पुनः राजनीतिमा ल्याउनु गल्ती हुने बताए। उनले भने, “सम्माननीयले सम्मानित पोजिसनमै बस्नु उपयुक्त हुन्छ।”त्यसैगरी केन्द्रीय सदस्य मञ्जु भण्डारीले विगतमा अध्यक्ष र पूर्व राष्ट्रपति भण्डारीबीचको सहकार्यकै कारण पार्टी सफल भएको भन्दै राजनितिमा र्फकन दिनुपर्ने धारणा राखेकी छन् ।
बैठकमा मुख्य रूपमा पार्टी सचिवालय र पोलिटब्युरोले पारित गरेको विधानमाथि छलफल भइरहेको छ। केन्द्रीय कमिटीबाट प्राप्त सुझावका आधारमा विधान संशोधन गरी मातहतका कमिटीमा थप परामर्शका लागि पठाउने तयारी गरिएको बताइएको छ।हिजोदेखि सुरु भएको बैठकमा मधेस, गण्डकी र सम्पर्क समन्वयका केन्द्रीय सदस्यहरूले धारणा राखिसकेका छन् भने अहिले बागमती प्रदेशका सदस्यहरूले धारणा राख्ने क्रम जारी छ।

प्रतिक्रिया