काठमाडौँ, साउन ९ – सत्तारूढ नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता स्वतः निस्क्रिय भएको बताएका छन्।
बुधबार ९औं केन्द्रीय कमिटी बैठकका निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पोखरेलले सदस्यता नवीकरण नगरेको विषयमा पार्टीलाई पहिले नै जानकारी भएको बताए। तर तत्काल सार्वजनिक नगर्नुको कारण विशेष संवेदनशीलता रहेको उनले स्पष्ट पारे।
“उहाँले सदस्यता नवीकरण नगरेपछि हामीले त्यो विषय तत्काल सार्वजनिक गरेनौं। यो एउटा विशेष विषय भएकाले छलफल आवश्यक ठान्यौं। उपयुक्त समयमा निर्णय गर्ने सहमति थियो,” पोखरेलले भने।
उनका अनुसार, पूर्वराष्ट्रपतिले आफैं यो विषय सार्वजनिक गरेपछि पार्टीले पनि धारणा सार्वजनिक गरेको हो। पोखरेलले थपे, “हिजोको बैठकबाट हामीले स्पष्ट निष्कर्ष निकालेका छौं। उहाँको भूमिका मुलुकका लागि फरक रहनुपर्ने भएकाले पार्टी राजनीतिमा फर्किनु उचित ठानिएन। त्यसैले सदस्यता स्वतः निस्क्रिय भएको हो।”
महासचिव पोखरेलका अनुसार, पार्टी विधानअनुसार सदस्यता नवीकरणको विषय केन्द्रीय कमिटीको निर्णयमा निर्भर हुन्छ। “उहाँको विशेष भूमिकालाई ध्यानमा राखेर सदस्यता निरन्तरता नदिने निर्णय गरियो,” उनले भने।

प्रतिक्रिया