माण्डु हाइड्रोपावरको आइपिओमा आवेदन दिने आज अन्तिम दिन

माण्डु हाइड्रोपावरको आइपिओमा आवेदन दिने आज अन्तिम दिन


काठमाडौं ।

माण्डु हाइड्रोपावरको आइपिओमा आवेदन दिने बुधबार अन्तिम दिन हो ।

लगानीकर्ताले आज कार्यालय समयभित्र यस कम्पनीको आइपिओमा आवेदन दिन सक्नेछन् ।

सीडीएसका अनुसार यसमा भदौ १२ गते सम्ममा ७ लाख २२ हजार १५९ जनाले ७९ लाख ३१ हजार कित्ताका लागि आवेदन परिसकेको छ ।

यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ६.५७ गुणा बढी आवेदन हो ।

यस कम्पनीले भदौ १० गतेदेखि फेस भ्याल्यू १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँ दरले १३ लाख ६ हजार ३०६ कित्ता सेयर आइपिओ जारी गरेको हो ।

जसमध्ये २८ हजार ८५३ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ । त्यस्तै, ७२ हजार १३३ कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ ।

बाँकी १२ लाख ५ हजार ३२० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीले यसअघि आफ्नो जारी पुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १० प्रतिशत अर्थात ७२ हजार ७३० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको छ ।

सर्वसाधारणले न्यूनतम १० कित्तादेखि ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।

लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

रेटिङ एजेन्सी इक्रा नेपालले माण्डु हाइड्रोपावरको आइपिओलाई इक्रा एनपी डबल बी माइनस रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च मध्यमस्तरको सुरक्षित रहेको संकेत गर्छ ।

इक्रा नेपालले २०७९ असोज १३ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८० असोज १२ गतेसम्म बाहल रहनेछ ।