जुडिबेला खानेपानी आयोजनाको १० बर्षसम्म अझै अधुरो

जुडिबेला खानेपानी आयोजनाको १० बर्षसम्म अझै अधुरो

१० हजार जनता आर्सनिकयुक्त पानी पिउन बाध्य


रौतहट — निर्माण सुरु भएको एक दशक बितिसक्दा पनि चन्द्रपुर नगरपालिका–२ स्थित जुडिबेला खानेपानी आयोजना अझै अधुरो छ। आयोजनाको कार्य थालनी भएको १० वर्षपछि पनि करिब १० हजार स्थानीयवासी आर्सनिकयुक्त पानी प्रयोग गर्न बाध्य भएका छन्।

विसं २०७२ मा सुरु गरिएको उक्त आयोजना सम्पन्न भइसकेको भए २,५०० घरधुरीले शुद्ध खानेपानी पाउने अपेक्षा गरिएको थियो। तर सर्लाहीस्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका तथ्यांकअनुसार हालसम्म ५५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ।

चन्द्रपुर नगरपालिकाका अन्य वडाहरूमा खानेपानी सेवा पुगेको भए पनि जुडिबेलामा अझै आर्सनिकयुक्त पानी प्रयोग भइरहेको छ। उपभोक्ता समितिका अध्यक्ष भोला थपलियाका अनुसार ३० देखि ५० फिटमुनिको आर्सनिकयुक्त पानी पिउनु नागरिकको बाध्यता हो। उनले भने, “सङ्घीयतापछि योजना न प्रदेशको प्राथमिकतामा पर्‍यो न संघीय सरकारले ध्यान दियो। अब अर्को नयाँ आयोजना आवश्यक देखिएको छ।”

हालसम्म ४ लाख ५० हजार लिटर क्षमताको ओभरहेड ट्याङ्की, डिपबोरिङ, पम्पहाउस, कार्यालय भवन, विद्युतीकरण र करिब २७ किलोमिटर मेनलाइन पाइप गाडिएको छ। तर अझै करिब ३५ किलोमिटर मेनलाइन आवश्यक छ। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इञ्जिनियर विवेक झालका अनुसार बजेट अभावले काम रोकिएको हो। “बजेट समयमा उपलब्ध भए काम सम्पन्न गर्न सकिन्छ,” उनले बताए।

आयोजनामा ठेकेदारलाई रु ५४ लाख भुक्तानी हुन बाँकी छ भने थप कामका लागि करिब रु २ करोड बजेट आवश्यक छ। डिभिजन कार्यालयले मधेस प्रदेश सरकारलाई गत भदौ १४ गते बजेटका लागि पत्र पठाइसकेको छ।

हाल करिब दुई सय घरधुरीलाई मोटरमार्फत पानी आपूर्ति भइरहेको भए पनि बाँकी घरधुरी अझै शुद्ध खानेपानीको पहुँचबाट टाढा छन्।