जुम्ला । जिल्लाको चन्दननाथ नगरपालिका(४ मा अवस्थित धिमीचौर पछिल्लो समय आन्तरिक पर्यटकीय गन्तव्यका रूपमा तीव्र गतिमा विकास भइरहेको छ। प्राकृतिक सौन्दर्य र रमणीय वातावरणले भरिपूर्ण यो ठाउँ आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै गएको छ।
यहाँका फूलले ढकमक्क पाटन, घना जंगलको काखमा रहेको ठूलो फाँट र मनमोहक दृश्यले पर्यटकलाई लोभ्याइरहेको छ। विशेषगरी साउन र भदौ महिनामा धिमीचौर पर्यटकले खचाखच हुने गरेको स्थानीय हिम्मत बुढ्थापाले बताए। ूशुक्रबार, शनिबार र बिदाका दिनमा यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्छ,ू उनले भने।
चन्दननाथ नगरपालिकाका प्रमुख सुरेन्द्रबहादुर महतका अनुसार धिमीचौरको पर्यटकीय सम्भावनालाई उजागर गर्न स्थानीय सरकारले विभिन्न प्रयास गरिरहेको छ। ूपर्यटकीय गतिविधि सञ्चालन, प्रचारप्रसार र पूर्वाधार विकासमा हामीले जोड दिएका छौं। सदरमुकाम खलङ्गाबाट करिब एक घण्टाको पैदल यात्रामा पुग्न सकिने धिमीचौर पुग्न सडक विस्तार भइसकेको छ र यसलाई थप स्तरोन्नति गर्ने योजना छ,ू उनले भने।
यस क्षेत्रमा पर्यटकको चहलपहल बढेसँगै स्थानीयको आयआर्जनमा समेत वृद्धि भएको छ। तर, पर्यटकीय गतिविधिसँगै वातावरणमा फोहरको समस्या पनि देखिएको स्थानीय लक्ष्मी खत्रीले बताइन्। ूबिस्कुट, चाउचाउका प्लास्टिक, रेडबुल र पानीका बोतलहरू पाटनमा भेटिन्छन्। फोहर व्यवस्थापनका लागि ठाउँ(ठाउँमा फोहर फाल्ने खाडलको व्यवस्था गर्नुपर्छ,ू उनले सुझाइन्।
पहिले बर्खायाममा गाईगोठका रूपमा प्रयोग हुने धिमीचौर अहिले पर्यटकीय केन्द्र बन्दै गएको छ। स्थानीय सरकारले पूर्वाधार विकास र फोहर व्यवस्थापनमा थप ध्यान दिएमा यहाँको पर्यटन अझै फस्टाउने र स्थानीयको आर्थिक स्तर सुधार हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया