नागढुंगा-नौबिसे सुरुङमार्ग प्रयोगकर्ताले कति शुल्क तिर्नु पर्ने?

नागढुंगा-नौबिसे सुरुङमार्ग प्रयोगकर्ताले कति शुल्क तिर्नु पर्ने?


काठमाडौं । सरकारले नेपालमा नै पहिलो पटक गाडी गुड्ने नागढुंगा-नौबिसे सुरुङ मार्गमा गाडी र बाइक सञ्चालन गर्दा कति शुल्क तिर्नु पर्ने भनेर शुल्क तोकेको छ । साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठक शुल्क तोकेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बताए । मन्त्री दाहालले भने, ‘साउन २६ गते बसेको मन्त्रिपरिषद्ले सुरुङ मार्गमा गाडी काठमाडौं आउँदा र काठमाडौंबाट फर्किदा कति शुल्क लिने भनेर तोकेको हो । सवारी अनुसार ६५ रुपैयाँदेखि ६ सयसम्म शुल्क तोकिएको छ ।’ कार र भ्यानहरूको काठमाडौँ आउँदा ६५ रुपैयाँ र जाँदा ६० रुपैयाँ प्रवेश शुल्क अर्थात् दस्तुर तोकिएको छ । भने, मिनी बस/ट्रकको काठमाडौं आउँदा ११५ रुपैयाँ र काठमाडौंबाट फर्किँदा ८० रुपैयाँ दस्तुर तोकिएको छ । त्यस्तै, बस तथा ट्रकको काठमाडौं सुरुङ मार्गबाट आउँदा २६० र जाँदा २०० रुपैयाँ शुल्क तिर्नु पर्ने छ । भारी सवरीले भने सुरुङ मार्गबाट काठमाडौं आउँदा ६ सय र काठमाडौंबाट फर्किदा २५० दस्तुर तिर्नु पर्ने छ । नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजना निर्देशक सौजन्य नेपालले नेपालले वैज्ञानिक तरिकाले नै नागढुंगा-नौबिसे सुरुङ मार्गको प्रवेश शुल्क तोकिएको बताए ।
उनले भने, ‘हामीले गाडी सञ्चालन हुँदा लाग्ने खर्च, समय र मर्मत शुल्कको अध्ययन गरेर त्यसको निश्चित प्रतिशत मात्रै दस्तुर अर्थात् शुल्क तोकिएको हो । सुरुङ मार्गमा बाइक, ग्यास बुलेट, डिजेल पेट्रोल र सुरक्षाका लागि चुनौती हुने गाडी गुड्न पाउने छैनन् । सुरुङ मार्गको काम ९४.५ प्रतिशत सम्पन्न भएको छ । बाँकी काम यही वर्षको कात्तिकसम्म सकिन्छ । कार्तिकमा काम सम्पन्न भए पनि सुरुङ मार्गको सुरक्षा सम्बन्धी तालिम गरेपछि पुसबाट सञ्चालन गर्ने तयारी रहेको छ ।’ २०८० साउन २२ गते नागढुंगा–नौबिसे सुरुङमार्गको रेस्क्यू टनेल ‘ब्रेक थु’ गरिएको थियो । यो सुरुङमार्गको सञ्चालनमा आएपछि सबैभन्दा पहिलो गाडी गुड्ने सुरुङमार्ग हुने छ । सिद्ध बाबामा पनि सुरुङमार्गको काम भइरहेको छ । कोरोना, लकडाउन, स्थानीयको आन्दोलनका कारणले सुरुङ मार्ग निर्माणको काम पछाडि धकेलिएको थियो । वैशाख ३ गते नागढुंगा–नौबिसे मार्गको ब्रेक थु्र भएको थियो । जापानी कम्पनी हाजमा एण्डो कर्पोरेसनले सो सुरुङ्गमार्ग निर्माण गरेको हो ।

सुरुङ्गमार्ग केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा २०७६ कात्तिक ४ मा शिलान्यास गरेका थिए । शिलान्यास भएको ४२ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेर काम सुरू भएको थियो । तर, २०८२ सालको पुसमा मात्रै सञ्चालन हुने अवस्था रहेको छ । कोरोना, लकडाउन र मुआब्जालगायतका अवरोधले सुरुङ मार्ग निर्माणमा ढिलाइ भएको हो । सुरुङमार्गमा सुरुङ र सडक गरी कुल ५.१३ किलोमिटर लामो तीन लेनको हुनेछ । उपत्यका प्रवेश गर्ने सवारीसाधन दुई लेनबाट यात्रा गर्नेछन् भने बाहिरिने सवारीसाधन एक लेनबाट जाने छन् । यस मार्गमा सुरुङको कुल लम्बाइ २ दशमलव ६ र सडकको लम्बाइ २ दशमलव ४५ किमी हुनेछ । सुरुङमार्ग बनेपछि नौबिसे–थानकोटको झण्डै ८ किलोमिटर लम्बाइसँगै झण्डै ३० मिनेट यात्रा समय छोटिने अपेक्षा लिइएको छ ।

कुल २२ अर्ब रुपैयाँमा ४२ महिनाभित्र सम्पन्न गर्ने गरी जापानी कम्पनी हाज्मा–आन्द्रो जेभीले नागढुंगा–नौबिसे सुरुङमार्गको निर्माण ठेक्का लिएको थियो । जापान सरकारको करिब १६ अर्ब रुपैयाँ सहुलियतपूर्ण कर्जामा नेपाल सरकारको समेत लगानीमा बन्दै गरेको हो । धादिङको धुनिबेँसी नगरपालिकाको सिस्ने खोलाबाट सुरू भई काठमाडौंको चन्द्रागिरि नगरपालिका बलम्बुमा निस्किने छ ।