९ बिघा सरकारी जग्गा अतिक्रमणमा, ६ जनालाई ३५ दिनको अल्टिमेटम

९ बिघा सरकारी जग्गा अतिक्रमणमा, ६ जनालाई ३५ दिनको अल्टिमेटम


हेटौँडा ।

संघीय सरकारअन्तर्गतको प्राकृतिक जलाशय मत्स्य प्रवर्धन एवं संरक्षण केन्द्र, हेटौँडाको नाममा हेटौँडा उपमहानगरपालिका–५ मा रहेको जग्गा अतिक्रमणमा परेको छ ।

केन्द्रको जग्गा ६ जनाले अतिक्रमण गरी बसेको पाइएको हाे । स्थानीय क्लब र केही व्यक्तिले केन्द्रको नाममा रहेको सरकारी जग्गा वर्षौंदेखि अतिक्रमण गरी भोगचलन गर्दै आएको पाइएपछि हटाउने प्रक्रिया थालेको छ ।

अतिक्रमण गरी बनाएका घरटहरालगायतका संरचना हटाउने गरी केन्द्रले प्रक्रिया सुरु गरेको हो ।

केन्द्र ३५ दिनभित्र जग्गा खाली गर्न भन्दै शनिबार सूचना जारी गरेको छ । केन्द्रको जग्गा अतिक्रमण गरी बनाइएका घरटहरालगायतका संरचना ३५ दिनभित्रमा हटाउन सूचना जारी गरिएको  छ ।

साथै केन्द्रको एउटा भवनमा बसेकालाई हटाइ तत्काल भवन खाली गर्नसमेत सूचनामा भनिएको छ । सरकारी भवनमा केन्द्रकै कर्मचारी प्रेमबहादुर परियार बस्दै आएको र उनी बनेको भवनसमेत तत्काल खाली गर्नुपर्नेछ ।

यसअघि क्लब र ९ जना व्यक्तिले गरी ९ बिघा ७ कट्ठा १३ धुर जग्गा अतिक्रमण गरिएको केन्द्रको प्रारम्भिक अनुमान थियो । केन्द्रको नामको जग्गा खोजी गर्ने क्रममा केन्द्रको जग्गा क्लब र व्यक्तिले अतिक्रमण परेको पाइएको थियो । अतिक्रमण गरी बनाइएका टहरा र पक्की घर भाडामा दिँदै आएको पाइएको छ ।

नापी कार्यालयबाट केन्द्रको जग्गा नापजाँच गराउँदा कित्ता नंं. ९६ को जग्गा अतिक्रमणमा परेको जानकारी दिँदै पिप्ले युवा क्लबले प्रयोग गर्दै आएको जग्गाबारे मन्त्रालयस्तरमा कसरी व्यवस्थापन गर्ने भन्नेबारेमा छलफल चलिरहेको बताइएको छ  ।