गिरीबन्धु टी स्टेट र नेपाल ट्रष्टको जग्गा अनियमितता प्रकरणको छानबिन गर्न सांसदको माग

गिरीबन्धु टी स्टेट र नेपाल ट्रष्टको जग्गा अनियमितता प्रकरणको छानबिन गर्न सांसदको माग


काठमाडौं ।

सांसदहरुले गिरीबन्धु टी स्टेट र नेपाल ट्रष्टका नाममा रहेको गोकर्ण फरेस्ट रिसोर्टको जग्गा प्रकरणमा अनियमितता भएको चर्चा सञ्चारमाध्यम लगायतमा आइरहेकाले यसको छानबिन गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद राजेन्द्रकुमार केसीले गिरीबन्धु टी स्टेटमा हदबन्दी छल्ने गरी कानुन बनाएर भ्रष्टाचार गरिएको दाबी गरे ।

नेपाल ट्रष्टका नाममा रहेको गोकर्ण फरेस्ट रिसोर्टको जग्गा कौडीको भाउमा नेपाल सरकारले यति होल्डिङसलाई भाडामा दिएकाले छानबिनको माग गरेका हुन् ।

सांसद रामहरि खतिवडाले पनि गिरीबन्धु टी स्टेटका विषयमा निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरे ।

भ्रष्टाचारका काण्डमा छानबिन भइरहेका बेला यी घटनामा तत्काल छानबिन गरी दोषी पत्ता लगाउन उनले माग गरे । सांसद महेश बस्नेतले इलाम र झापामा रहेका चिया बगान निजीकरणका नाममा भ्रष्टाचार भएको भन्दै छानबिन गरिनुपर्ने बताए ।

सांसद भानुभक्त जोशीले शून्य समयका विषय सरकारले सम्बोधन नगरेको बताउदै संसद्मा उठेका विषयमा गम्भीर हुनुपर्नेमा जोड दिए । सांसद मंगलप्रसाद थारुले सरकारी निकायमा बेरुजु बढ्दै गएकाले यसको नियन्त्रण गरी भ्रष्टाचार रोक्न माग गरे ।